उपत्यकामा जथाभावी सवारी चलाउन नपाइने - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

उपत्यकामा जथाभावी सवारी चलाउन नपाइने



काठमाडौँ –

काठमाडौँ उपत्यकामा अबदेखि जथाभावी रुपमा सवारी चलाउन नपाइने भएको छ।

उपत्यकामा हुने सडक दुर्घटना कम गर्न तीव्रगतिमा गुड्ने सवारीसाधन सडकको बीच भागबाट र सर्वसाधारण बोक्ने सवारी सडकको बाहिरी भागबाट हिँड्नुपर्ने भएको छ।

जथाभावी ढंगले सवारी चलाउँदा दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार भक्तपुरदेखि काठमाडौँ आउने सवारीसाधनलाई प्रशिक्षण दिएको हो ।

‘पहिला तपाईं अनि म’, ‘हर्न नबजाउँ’, ‘सडकको दाँया भागबाट मात्र ओभरटेक गर्नुहोस्’, ‘मोटरसाइकल, साइकल, ट्रक, मिनीट्रक बाँया भागमा मात्र’ नारासहितका विभिन्न प्लेकार्ड प्रदर्शन गरी महाशाखाले सवारी चालक र यात्रुलाई जनचेतना प्रदान गरेको हो।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकामा वार्षिक हुने दुर्घटनामध्ये ४२ प्रतिशत व्यक्ति पैदलयात्रु पर्ने गरेको भन्दै उक्त दुर्घटनामा कमी ल्याउन यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। “सभ्य र अनुशासित भएर सवारी चलाउँदा दुर्घटना ह्वात्तै घट्छ,”– प्रमुख खनालले भने।

उनले आगामी दिनमा काठमाडौँ तथा ललितपुरका विभिन्न भागमा यस्तो कार्यक्रम सञ्चालन गर्ने बताए। रासस