गगनलाई बम हान्ने ६ जना पेस्तोल र बम सहित पक्राउ,
काठमाडौं–
नेपाली कांग्रेसका नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन्।
नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई प्रहरीको बिशेष ब्युरोले बिहीबार पक्राउ गरेको हो। उनीहरुको साथबाट चिनियाँ पेस्तोल र चार वटा बम बरामद भएको छ।
गत सोमबार थापालाई लक्षित गरी काठमाडौंको चपलीमा विस्फोट गराइएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ का उम्म्दवार थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो। सो क्रममा उनीसहित ११ जना घाइते भएका थिए।
प्रहरीले नेकपाका कार्यकर्ताहरुको तीन वटा डेरामा छापा हानी बम बनाउन प्रयोग हुने सामान र विभिन्न दस्तावेजसमेत बरामद गरेको छ।
राजधानीमा भएका अन्य विस्फोटका घटनामा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ। गोलेकै समूहले राजधानीमा चुनावविरोधी गतिविधि गरेका थिए।