समृद्ध र समुन्नत अर्घाखाँची हाम्रो साझा एजेन्डा ।
कमल विष्ट/अर्घाखाँची ,१८
मुलुकका दुई ठुला राजनीतिक शक्ति नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको लक्ष्य सहित चुनावी तालमेलमा उम्मेदवारी दिएसङ्गै अर्घाखाँचीमा पनि वाम गठबन्धनका उमेदवार मात्र होइन अन्य नेता कार्यकर्ता समेत उत्साहित देखिएका छन्, गठबन्धन नै बनाएर निर्वाचनमा होमिएका उमेदवारहरु आफूले जित्नेमा ढुक्क देखिएका छन् , अर्घाखाँचीमा बाम गठबन्धन बाट उम्मेदवारी दिएका तिनवटै उमेदवारले आफ्ना साझा एजेन्डा र लक्ष्य एउटै रहेको बताएका छन्, हिमाल पोस्ट सङ्ग कुरा गर्दै अर्घाखाँची बाट प्रतिनिधि सभामा संयुक्त बामगठबन्धनबाट साझा उमेदवारका रूपमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझिले अहिले हामी गठबन्धनमा फरक फरक पार्टीमा रहेपनी हाम्रो समृद्ध र समुन्नत अर्घाखाँची नै साझा एजेन्डा एउटै रहेको र छिट्टै पार्टी पनि एक हुने बताउनु भएको छ ।
आफूहरू विजयी भएर गएपछि बिदेशिएका युवाहरूलाई जिल्लामै रोजगार र स्वरोजगारको सिर्जना गर्ने, गाउँका प्रत्येक वडामा बाटोहरु स्तरोन्नति गरेर कालोपत्रे गर्ने, शिक्षा स्वास्थ्य लगायतका प्रभवकारी सेवा गाउँ गाउमा पुर्याउने बताउनु भएको छ ।
त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य अर्घाखाँची क्षेत्र नम्बर १ का बामगठबन्धनका साझा उमेदवार चेतनारायण आचार्यले मुलुकको विकासका लागि अब वाम गठबन्धन निर्विकल्प रहेकोले जिल्लाको हरेक क्षेत्रको विकासको जिम्मेवारी आफूहरूले लिन तयार रहेको बताउनु भयो ।
उहाँले आफू विजयी भएर गएपछि जिल्लाको विकास र समृद्धिका लागि दिलो ज्यान दिएर काम गर्ने र मत दिएका सबै मतदाताको सिर ठाडो पार्ने काम गर्ने बताउँदै जिल्लाको विकासका लागि कृषिलाई पकेट क्षेत्र निर्धारण गरी आधुनिकीकरण गरेर कृषि , माछा, मासु , अन्डा लगायतका बस्तुहरुमा आत्मनिर्भर बनाउने, युवाहरूलाई रोजगार र स्वरोजगारको सिर्जना गर्ने, जेष्ठ नागरिक हरुको सामाजिक सुरक्षा भत्तामा वृद्धि गरी ५ हजार पुर्याउन पहल गर्ने, शिक्षा स्वास्थ्य गाँस बाँस र कपासको ग्यारेन्टी हुने राज्य निर्माणका लागि भूमिका खेल्ने बताउनुभएको छ ।
त्यस्तै अर्घाखाँची बाट प्रदेश सभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उमेदवार तथा नेकपा एमालेका पूर्व जिल्ला कमिटी अध्यक्ष रामजीप्रसाद घिमिरेले मुलुकभर वामपन्थीहरुको एकताले नयाँ तरङ्ग फैलिएकोले जनता त्यस्बाट उत्साहित भएको बताउँदै आफू विजयी भएर गएपछि जिल्लालाई समृद्ध बनाउने कुरामा भूमिका खेल्ने बताउनु भएको छ, उहाँले नौमुरे जलविद्युत आयोजना जनताको समेत लगानीमा सप्पन्न गरी जिल्लालाई उज्ज्यालो तर्फ डोर्याउने , धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरी जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर जिल्लाको आय श्रोत बढाउने, व्यावसायिक तथा आधुनिक कृषि र पशुपालन गरी कृषिमा आत्मनिर्भर बनाउने, सहकारी मार्फत जनतालाई गाउँ गाउमा उत्पादन मूलक कार्यमा लगाउने, शिक्षा, स्वास्थ्य , बाटोघाटो, बिद्धुत ,पानी जस्ता जनताका आधारभूत आवश्यकता लाई हरेक नागरिक सम्म पुर्याउने बताउनुभएको छ ।