डा. बाबुराम भट्टराई भन्छन :लेखेर राख्नुस्, प्रचण्डले ६ महिनाभित्र माओवादी छाड्छन् - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

डा. बाबुराम भट्टराई भन्छन :लेखेर राख्नुस्, प्रचण्डले ६ महिनाभित्र माओवादी छाड्छन्



गोरखा, ३० कात्तिक ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ६ महिनाभित्र माओवादी छाड्ने दावी गरेका छन् ।

विहीबार बिहान पालुङटारमा आयोजित चुनावी सभामा बोल्दै डा. भट्टराईले भने, ‘माओवादीका साथीहरु लेखेर राख्नुस्, प्रचण्डजीले ६ महिनाभित्र माओवादी छाड्छन् र नयाँ पार्टी बनाउँछन् ।’ उनले प्रचण्डले दोहोरो चरित्र देखाउने गरेको भन्दै आफूसँगको भेटमा तपाईंले ठिक गर्नुभएको छ, अब हामी जाने पनि त्यही बाटोमा हो भन्ने गरेको जिकिर गरे ।

‘उहाँ मलाई भेट्न आउँदा अब एकदलीय शासन व्यवस्था चल्दैन, बाटो तपाईंले नै लिएको सही छ भन्नुहुन्छ,’ उनले भने, ‘तर बाहिर गएर मलाई बिग्रियो भन्नुहुन्छ, यो आफ्नो अनुकूलता नमिलेसम्म कार्यकर्ताको दिमाग भुट्ने तरिका हो ।’ उनले इतिहास सम्झँदै माओवादी र देश आफूले नै अंगीकार गरेको बाटोमा हिँडेको स्पष्ट पारे ।

‘हिजो आएर के के बोल्नुभएछ भन्ने थाहा पाएँ, तर उहाँहरु पनि केही समयमा हाम्रो बाटोमा आउनुहुन्छ,’ उनले भने, ‘विकास र समृद्धिभन्दा अर्को बाटो छैन । अब सबै हिड्ने बाटो यही हो, मात्रै कुरा ढिलो बुझ्ने कि छिटो बुझ्ने भन्ने हो ।’ उनले माओवादीले विकासको नियम नबुझेर झुसिल्किराकै चरणमा घिस्रिरहेको आरोप लगाउँदै कि पुतली बन्ने कि सिद्धिने भन्दा अरु माओवादीसँग पनि विकल्प नभएको बताए ।

बुधबार बाबुरामलाई ‘निकृष्ट ढंगको अवसरवादी’को आरोप लगाउने प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठलाई पुनः उनले नक्कली माओ‌वादीको रुपमा चित्रित गरे । ‘हामी जनयुद्धमा रगत र पसिनासँग खेलिरहँदा उहाँ कहाँ पुच्छर लुकाएर भाग्नुभएको थियो, तपाईंहरु कसैले उहाँको नाम सुन्नुभएको थियो ?,’ उनले प्रश्न गर्दै भने, ‘अब बाबुराम गैरमाओवादी र उहाँ माओवादी, तपाईहरुलाई विश्वास लाग्छ ?’

उनले आफू कम्युनिष्टको चरित्रबाट कहिल्यै बाहिर नगएको जिकिर गरे । ‘हिजो हेलिकप्टर चढेर आउने चिल्ला गालाहरु भएका नेताहरु देख्नुभयो होला,’ उनले भने, ‘जो पैदल तपाईंसँग हिँडिरहेको छ, सुखदुःखमा जोडिएको छ, ऊ गैरकम्युनिष्ट ?’ उनले कम्युनिष्ट भनिने नेताहरुसँग अरबौंको सम्पत्ति भएको आरोप लगाए । ‘मैले त सम्पत्ति जोडेको छैन, कसैले देखाउनुभयो भने म तपाईंलाई नै दिन्छु,’ उनले भने ।

उनले गोरखामा विकासको प्रक्रिया सुरु गरेको र त्यसलाई पूर्णता दिन पनि आफ्नो विजय आवश्यक रहेको बताए । विदेशिएका युवालाई स्वदेश ल्याउन सुरु गरेको स्वरोजगार कार्यक्रमलाई आफू विजय भएमा प्रभावकारी ढंगले अगाडि बढाउने बताए ।