चेपाङहरुको नियति : भोट हालेका सांसद कहिल्यै देख्न पाएनन - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

चेपाङहरुको नियति : भोट हालेका सांसद कहिल्यै देख्न पाएनन



राक्सिराङ – 

चारैतिरबाट हावा छिर्ने झुप्रो घर । करिब एक महिनालाई खान पुग्ने मकै । बिरामी श्रीमती र कुपोषणले ग्रसित छोराछोरी । घरखर्च जोहो गर्न डोको बुन्दै गरेका रामकुमार चेपाङसँग जाडो लुकाउन अगेनाको आगो मात्र सहारा छ । मैलो झुत्रो कपडा, चाउरिएको अनुहार र जिङरिङ्ग परेको दाह्री कपाल । करिब ३५ वर्षीय रामकुमार ५० कटेझैं देखिन्छन् । आजको अन्नपूर्ण पोस्टमा कृष्ण सारु मगरले लेखेका छन् ।

राक्सिराङ गाउँपालिका-७ काँकडास्थित धिराङका रामकुमार पुर्खादेखि बस्दै आएको ओढार छाडेर खुला आकाशमुनि झुप्रो घरमा बस्न थालेको तीन वर्ष मात्र बितेको छ । भर्खरै बाहिरी संसार देख्दै गरेका उनले वैशाख ३१ मात्र चुनाव कस्तो हुन्छ भन्ने भेउ पाए । ३४ वर्षको उमेरमा एक वर्षअघि तत्कालीन काँकडा गाविस कार्यालयस्थित सिलाधुनीमा नागरिकता बनाएका उनले पहिलो पटकa स्थानीय निर्वाचनमा मत हाले ।

मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनबारे उनीहरू बेखबर छन् । निर्वाचनमा मत हाल्नुपर्छ भन्ने थाहा पाएका रामकुमारले अहिलेसम्म सांसद देखेका छैनन् । ‘चुनाव भन्ने चंै थाहा भो तर सांसद कस्ता हुन्छन् थाहा छैन’, उनले लजाउँदै भने, ‘एकचोटि सांसदसँग भेट्ने रहर छ ।’ अहिलेसम्म कोही पनि भोट माग्न नआएको उनले बताए ।

दुई छोराछोरीलाई यसै वर्षदेखि उनले नजिकैको धिराङ प्राविमा भर्ना गराएका छन् । श्रीमती राममाया प्रायः बिरामी भइरहन्छिन् । उनले हालसम्म सबैभन्दा ठूलो सरकारी मान्छे राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल भेटेका रहेछन् । ‘भोट माग्न आउनुभएको थियो, मैले सरकारलाई पहिलो पटक भेटेको’, उनले भने, ‘धेरै दुखेसो पोख्ने मन थियो, डरले नमस्कार मात्र गरें ।’ अहिलेसम्म अरू कोही पनि सरकारी मान्छे गाउँमा नआएको उनले बताए ।

उनी मात्र होइनन्, धिराङ र दाराङका ८५ चेपाङ परिवारका धेरै सदस्यले दर्जनौं पटक भोट हाले । तर, हालसम्म गाउँमा सांसद देखा परेका छैनन् । मकवानपुरको विकट चेपाङ बस्ती धिराङ र दाराङ पुग्न पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको लोथर बजारबाट एक दिन पैदल हिँड्नुपर्छ ।