पाँचनम्वर प्रदेशका वेरोजगार युवालाई स्थानीय तहमै स्वरोजगारको ग्यारेन्टी गरिने:पोख्रेल - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

पाँचनम्वर प्रदेशका वेरोजगार युवालाई स्थानीय तहमै स्वरोजगारको ग्यारेन्टी गरिने:पोख्रेल



दाङ/कात्तिक २५ । नेकपा एमालेका नेता शंकर पोख्रेलले पाँचनम्वर प्रदेशका वेरोजगार युवालाई स्थानीय तहमै स्वरोजगारको ग्यारेन्टी गरिने बताएका छन् ।

‘पाँचनम्वर प्रदेशका वेरोजगार युवा अब विदेश जानु पर्दैन । निश्चिन्त रहनुहोस् निर्वाचन पश्चात् हामी छिट्टै बैदेशिक रोजगारमा युवा विदेशीने परिपाटिको अन्त्य गछौँ’, शुक्रबार बंगलाचुली गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै पोख्रेलले भने, ‘युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने दिशामा अगाडि बढ्छौं ।’

नेकपा एमाले बंगलाचुली गाउँपालिकाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रदेशनम्वर ५ का मुख्यमन्त्रीका भावी उम्मेदवार पोख्रेलले निर्वाचनपश्चात् पाँचनम्वर प्रदेशका युवाहरुको तथ्याङ्क संकलन गर्ने र सो तथ्याङ्कका आधारमा ३ वर्षभित्र नीतिगत योजना बनाई शैक्षिक योग्यताका आधारमा रोजगारमुलक सीप प्रदान गर्ने बताए ।

बाम तालमेल चुनाव जित्नैका लागि मात्र नभएर विकास र दिगो राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका पोख्रेलले भने, ‘एमाले–माओवादी केन्द्रको यो चुनावी सहकार्य चुनाव सकिए लगतै पार्टी एकीकरणमा परिणत हुन्छ ।’ नेता पोख्रेलले चुवान लगत्तै आफ्नो नेतृत्वमा गठन हुने प्रदेश सरकारले पहाडी गाविसको विकासको अभाव, बाटो, सडक, स्वास्थ्य, आवासलगायतका जनताका आधारभूत आवश्यकता पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बङ्गलाचुली गाउँपालिकाको वडानम्वर ५ र ६ मा आयोजित अगुवा कार्यकर्ता भेलामा नेता पोख्रेलले समाजसेवी, शिक्षक, सर्वसाधारणलाई विशेष प्रशिक्षण दिएका थिए । बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले कार्यक्रममा स्वागत मन्तव्य राखे ।

उत्साजनक सहभागिता रहेको सो कार्यक्रममा प्रदेशनम्वर ५ अन्तर्गत दाङ क्षेत्रनम्वर २ (क) का समानुपातिक उम्मेदवार वलीभद्र राना, युवा नेता मनोहर बुढाथोकी, विवेक श्रेष्ठ, चुनाव परिचालन समितिका संयोजक लक्ष्मण आर्चाय, उपप्रमुख सुभाष पुनलगायतले अगुवा भेलामा मन्तव्य राखेका थिए ।