आमाको दुधका फाइदा यस्ता छन्
-तुलसी अधिकारी (मिश्र), उप–प्राध्यापक, महाराजगञ्ज नर्सिङ क्याम्पस (आइओएम)
विश्व स्तनपान सप्ताह दिवस हरेक वर्ष जस्तै यसवर्ष पनि साउन १७ देखि २३ गतेसम्म ‘स्तनपान दिगो विकासको प्रमुख आधार’ भन्ने नारासहित नेपालमा पनि मनाइदै छ । नारा जे भए पनि स्तनपान दिवसको मुख्य उद्धेश्य एउटी आमाले आफ्नो बच्चालाई सफल र पूर्णरुपमा स्तनपान गराउन प्रेरित गर्ने बुझिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सफल स्तनपान भनेको शिशु जन्मेको १ घण्टा भित्र आमाको दुध चुसाउने, ६ महिनासम्म बच्चालाई (आवश्यक परेमा औषधी वा भिटामिन बाहेक) पानी पनि नदिई आमाको दुध मात्र खुवाउनु हो । यसैगरी ६ महिनापछि २ वर्षसम्म आमाको दुधका साथै पोषिलो खानेकुरा सही मात्रा, सही तरिका र सही समयमा खुवाउनु पर्छ ।
आमाको दुध बच्चालाई अमृत समान हुन्छ । तर यसलाई आमाहरुले सही मात्रामा बच्चालाई दिन सकिरहका छैनन् । यसको कारण हो आमाले दुध पुगेन, दुध आएन भनेर दुध चुसाउन कम गर्नु वा छाड्नु । अनि बट्टा वा गाई–भंैसीको दुध बच्चा खुवाउनु ।
यसले गर्दा बच्चाले चाहिने उचित पौष्टिक तत्वहरु पाउन सकेको हुँदैन । जसले गर्दा बच्चामा रोग प्रतिरोध क्षमता कमजोर हुन्छ र पखला, स्वासप्रश्वासका रोग तथा कुपोषणबाट ग्रसित हुनपुग्छ । त्यसैले बच्चालाई ६ महिनासम्म पूर्ण रुपमा अमाको दुध मात्र खुवाउनु पर्छ ।
स्तनपानका फाइदाहरु
१. आमाको पहिला आउने पहेलो बाक्लो दुध (विगती) ले शिशुलाई विभिन्न रोग लाग्नबाट बचाउँछ ।
२. आमाको दुध सजिलोसंग बच्चाले पचाउन सक्छ साथै सफा पनि हुन्छ ।
३. आमाको दुधले झाडापखाला, श्वासप्रश्वास लगायतका विभिन्न रोगको संक्रमणबाट बचाउँछ ।
४. आमाको दुधले बच्चाको उचित मानसिक तथा शारीरिक विकास गर्न मद्धत गर्छ ।
५. आमाको दुध बच्चाले चाहेको बेलामा जहाँ पनि र जति पनि खुवाउन सकिन्छ ।
६. आमाले दुध चुसाउँदा आमा र बच्चाको माया–ममता बढन् जान्छ ।
७. आमाको दुध खाएका बच्चाहरुलाई पछि वयस्क हुँदा मधुमहे, मुटुरोग, दम रोग लाग्ने सम्भावना एकदम कम हुने विभिन्न अनुसन्धानले देखाएको छ ।
८. आमाको दुधमा ६ महिनासम्मका बच्चालाई आवश्यक पर्ने सम्पूर्ण पोष्टिक तत्वहरु पाइन्छ ।
९. स्तनपान गराउने आमाहरुलाई स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना पनि धेरै कम हुन्छ ।
स्तनपान गराउँदा ध्यान पुयाउन पर्ने कुराहरु
१. बच्चा जन्मेको १ घण्टा भित्रमा आमाको दुध चुसाईहाल्नु पर्छ ।
२. स्तनपान गराउने आमा तनाव रहित रहनु पर्छ । र बच्चालाई पूर्णरुपमा दुध खुवाउन सक्छु भन्ने आत्मविश्वास पनि हुनुपर्छ ।
३. बच्चालाई जति सक्यो धरै पटक बच्चाले चाहेको समयमा चाहे जति दुध चुसाउनु पर्छ । बच्चालाई बारम्बार दुध चुसाउँदा दुधको मात्रा बढ्छ ।
४. बच्चालाई दुध चुसाउँदा दुधको मुन्टोको साथै वरिपरिको कालो भाग बच्चाको मुख भित्र हुनुपर्छ ।
५. एक पटक एउटा स्तनबाट दुध चुसाएपछि अर्को पटक अर्को स्तनबाट दुध चुसाउनु पर्छ ।
६. एउटा स्तनबाट शिशु अघाएन भने अर्को स्तनबाट दुध चुसाउनु पर्छ ।
७. स्तनपान गराँउदा बच्चाको शरीर आमासँग टासिएको र मुख स्तनतर्फ हुनुपर्छ ।
८. बच्चाको टाउको र शरीर सिधा हुुनुपर्छ ।
९. बच्चाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।
बच्चालाई आमाको दुध पुगे–नपुगेको भन्ने छुट्याउने आधारहरु
१. बच्चाले २४ घण्टामा कमसेकम ६ देखि ८ पटकसम्म पिसाब फेर्छ । यदि त्यो भन्दा कम र पिसावको रङ गाढा पहेलो र गन्हाउने छ भने बच्चालाई आमाको दुध जतिमात्रामा चाहिने हो त्यो पुगेको छैन् भन्ने बुझ्नुपर्छ ।
२. बच्चाको तौल ५०० ग्राम प्रत्येक महिनामा बढनु पर्छ । यदि एक महिनामा ५०० ग्रामको दरले तौल बढेको छैन् भने पनि आमाको दुध पुगेको छैन भन्ने थाहा हुन्छ ।
३. बच्चाले आमाको दुध खाइसके पछि राम्रोसंग निदाउँछ ।
source:swasthyakhabar