दुःखी गरिवहरुका दुखेका घाउमा मल्हम पट्टी गर्दै हिंडेको छु : विष्ट - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

दुःखी गरिवहरुका दुखेका घाउमा मल्हम पट्टी गर्दै हिंडेको छु : विष्ट



भैरबी गाउँपालिका १, साबिक रावतकोट सानासैनी दैलेखमा विष २०२५ चैत्र २६ गते बुबा सेते विष्ट र आमा राजुदेवी विष्टको चौथो सन्तानको रूपमा जन्मनु भएका भीम सिंह विष्ट नेपालबाट उपचारको लागि भारत आउने गरिब, दुःखी, पिडीतहरुलाई हस्पिटलमा पु¥याउने, उपचारको व्यवस्था मिलाई दिने, लामो समयसम्म बिरामीरहरुको सेवा गर्ने सामाजिक कार्यकर्ताको रूपमा परिचित हुनुहुन्छ । वहाँ बाबु आमाका दश सन्तानहरु पाँच दाजुभाइ र पाँच दिदी बहिनीहरू मध्य महिलो छोरा हो ।

बाल्यकाल मै मातृ शोकमा परेपछी सार्है दुःख भोग्नुपरेको विष्टले बताउनु हुन्छ । आर्थिक स्थिति साहै्र कमजोर, खान लाउनसम्म नपुग्ने अवस्थामा जग्गा जमिन बेचेर उपचारको लागि भारत प्रस्थान गर्न बाध्य भएको नमिठो एथार्थ बताउनु हुन्छ विष्ट । अहमदाबादको होटेलमा नौकरी लागेपछी आर्थिक अवस्थामा केही सुधार भएको र अखिल भारत नेपाली एकता समाजमा लागे पछि नराम्रा दूव्र्यासनी त्याग्नुका साथै आर्थिक मितव्यायीताका बारेमा राम्रोसँग सिक्न पाएको समेत बताउनु हुन्छ ।

वहाँ पश्चिम भारत (गुजरात) स्थित नेपालीहरुमाथि आई पर्ने तमाम प्रकारका समस्याहरू निराकरण गर्नका लागि अहोरात्र खटिरहने भएकोले त्यस क्षेत्रका श्रमजिवी नेपालीहरूको विश्वसिलो पात्र पनि हुनुहुन्छ । वहाँ गुजरातका स्थानीय जनहरु समक्ष नेपाली उद्यमीको रूपमा परिचित हुनुहुन्छ । एकता समाजमा लागेर आफूले धेरै कुराहरू सिक्न पाएको महसुस गर्नु हुने विष्टले एकता समाजका पूर्व महासचिव गङ्गा पौडेल र वर्तमान महासचिव खगेश्वर शर्माबाट आफू प्रभावित भएको बताउनु हुन्छ । वहाँ दैलेखी ज्वाला सामाजिक सेवा ट्रस्टको प्रमुख र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको बैकल्पिक सदस्य हुनुहुन्छ । हाल भीम सिंह विष्टलाई राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा दैलेख क्षेत्र नं २ को प्रत्यक्ष उमेदवारको रूपमा मैदान उतारेको छ । वहाँसँग गरिएको सानो वार्तालाप ……

१. तपाईँ भारत प्रवासमा कहिले देखि ?

– म सन १९८३ तिर म भारतको गुजरात राज्यको अहमदाबादमा उपचारको क्रममा सरकारी सिविल हस्पिटलमा आएको थिएँ । हड्डीको टिबीको उपचारमा आठ महिनाको कोर्ष पुरा गरी त्यहाँ नजिकको सुहान नामको चायको होटेलमा कामको सुरु गरेँ । समय बित्यो घर जाने मन लाग्यो, पैसाको अभाव थियो । जसरी तसरी घर फर्कें, घरमा दुई तिन महिनाको बसाई पछि फेरी औषधी गर्न भनी घरबाट गुजरात आई अहमदाबाद आश्रम रोड होटेल रिगलमा नौकरी लागेर थप एक वर्ष उपचार गरी अप्रेशन सफल भयो र पूर्ण रूपमा निको भएँ । त्यति वेला उपचारको क्रममा भारत प्रवासमा आएको मान्छे म आफ्नो उपाचार पछि हालका दिनहरूमा दुःखी गरिवहरुका दुखेका घाउमा मल्हम पट्टी गर्दै हिंडेको छु ।

२. तपाईँ राजनीति क्षेत्रमा कहिलेदेखी प्रवेश गर्नु भयो ?

आफ्नो उपचार पछि म गुजरातका विभिन्न जिल्लाहरूमा कामको खोजीमा लागें । सन १९८४ तीरको कुरा हो जस्ता लाग्छ, बडोदरा सहरको रनौलीमा पुगेपछि त्यहाँ तत्कालीन अखिल भारत नेपाली एकता समाज रहेको थाहा पाए पछि मलाई पनि सामाजिक काम गर्ने इच्छा जाग्यो । त्यहाँ म रनौली एरिया समितिमा रहेर काम गर्न थालेँ । त्यसपछि समयको साथसाथै खेडा जिल्लामा पुगियो, नौकरी पनि समाजको काम पनि गर्दै नाडियाद नगर समितिको अध्यक्ष, पश्चिम भारत क्षेत्रीय समितिको कोषाध्यक्ष हँुदै पाचौँ अखिल भारत सम्मेलन हैदराबादमा प्रतिनिधि, छैटौँ अखिल भारत सम्मेलन फरीदावादमा प्रतिनिधि, सातौँ अखिल भारत सम्मेलन लखनऊमा सल्लाहकार र केन्द्रीय समितिको तेस्रो बैठकबाट केन्द्रीय वैकल्पिक सदस्यमा चयन भएको हुँ ।

३. तेस्रो देशमा पुग्नु भएको पनि कुरा गर्नु भयो, त्यो वेला एकता समाज ?

– हो, म भारतमा काम गर्दागर्दै खाना पकाउने कुकको रूपमा मैले कुवैत जाने अवसर पाएँ । सन १९९५ मा म कुवैतमा गएर नौकरी गरेँ । भारतमा एकता समाजमा काम गरेको र विभिन्न समाजिक कामहरुमा खटिरहने बानी परेकाले कुवैत बसिरहनु मलाई त्यति उपयुक्त लागेन र पुनः स्वदेश फर्किएँ । अनि फेरी नाडीयाड आएर एकता समाजको काममा सक्रिए भूमिका निर्वाह गर्दै आइरहेको छु ।

४. पहिल्यै देखि वामपन्थी राजनीति कित्तामा हुनुहुन्थ्यो कि पछि मात्रै वामपन्थी ?

– म पहिले देखि नै वामपन्थी बिचार धाराको पक्षमा छु । समाजवादको म खुलेर प्रशंसा गर्छु । सर्वहारा गरिखाने मजदुरहरूको माझबाट म आएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा लागियो, धरै कुरा सिक्न पाइयो । पढ्न पाइयो, शोषण, अन्याय, अत्याचार, दमनका बारेमा मसिनो गरी एकता समाजले सिकायो । २०७३ साउन महिनामा राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपन काठमाडौँमा राजमोद्वारा एक महिना प्रशिक्षण लिने अवसर पाएँ । त्यो शिविर पश्चात् त झनै मैले स्पष्ट हुने मौका पाएँ । श्रमजिवी वर्गलाई अगाडि बढनबाट सदासर्वदा रोकने शोसकहरु नै हो भनेर थाह पाइयो । देशमा विद्यमान सामन्तवादी संस्कारका कुरा पनि छन् । अब चरम पुँजीवादको विरोध गर्दै मजदूरहरुका हकहितका लागि सङ्घर्ष गर्दै प्रवासबाट सर्वहारा वर्गको नेतृत्व गर्ने जिम्मेवारी पनि पाएको छु ।

५. तपाईँ त भारतमा सामाजिक क्षेत्रमा काम गर्नुका साथसाथै व्यापार विजनेश गर्ने व्यक्ति पनि त हो नि हैन र ?

– म भारतमा आईसकेपछी नौकरीका साथसाथै एकता समाजमा काम गर्ने दौरानमा धेरै कुराहरू सिक्ने मौका पाएको कुरा माथि नै उल्लेख गरी सकेको छु । भारतमा नेपालीहरूले पनि नोकरी, पेसा, व्यवसाय, उद्योग धन्दा, कलकारखाना लगायतका कार्यहरू गर्न पाउने प्रावधान १९५० को नेपाल–भारत मैत्री सन्धीमा उल्लेख रहेको पाइयो । त्यसै अनुसार मैले पनि एकता समाजको काम जो भारत प्रवासमा आएपछि विभिन्न समस्याहरूबाट पिढीएका हुन्छन्लाई समाजिक सेवा पु¥याउनुका साथसाथै होटेल व्यवसायको काममा पनि ध्यान दिँदै आएँ र अहिले पनि निरन्तर सोही कार्यलाई अगाडि बढाई रहेको छु ।

काम गर्ने दौरानमा बिस्तारै एकता समाजको माथिल्लो तहसम्म पुग्ने अवसर पनि प्राप्त भयो । परिवारको जिविको पार्जनको लागि व्यवसाय र सामाजिक सेवामा एकता समाजको आवश्यकतालाई मैले राम्रोसँग बुझें । माथिल्लो कमिटीले थुप्रै कामको जिम्मा दियो र प्राप्त जिम्माहरुलाई मैले चुनौतीको रूपमा स्वीकार गर्दै निरन्तर सामाजिक काममा लागिरहें । अहिले केन्द्रीय समितिले मलाई दैलेख क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको छ । मलाई त्यहाँसम्म पु¥याउने वा भनौं भीम सिंह विष्टको रूपमा स्थापित बनाउने कामको श्रेय मूल प्रवाह अखिल भारत नेपाली एकता समाजललाई दिन्छु र हृदयदेखि नै आभार प्रकट गर्दछु साथै राष्ट्रिय जनमोर्चालाई धन्यवाद ज्ञापन गर्दछु । जसरी पार्टीले विश्वास गरी मलाई ठुलो पदको जिम्मा दियो, त्यसरी म त्यहाँका सम्पूर्ण दैलेखी जनताका सेवा तथा सामाजिक काम गर्ने बचनबद्दता गर्दछु ।

६. सम्भावना कत्तिको देख्नु भएको छ ?

– राम्रो सम्भावना देखेकोछु । प्रवासमा रहेर जुन सामाजिक काम गरेकोछु त्यसको परिणाम जताततै राम्रै सुनेको छु । गृह जिल्लाबाट पनि सबैको माग छ । एउटा सोझो, इमान्दार, समाजसेवी, निष्कलङ्क, निस्स्वार्थ भावना भएको एवं विकास प्रेमी उम्मेदवारको खाँचोको महसुस दैलेखी जनताले गरेका छन् ।

विगतमा विभिन्न पार्टीहरुका व्यक्तित्वहरुलाई दैलेखी जनताले विजयी बनाए तर उनीहरूलाई देखाइएका सपना केवल सपना नै रह्यो । त्यसैले दैलेखी जनताले स्वार्थमा तल्लीन नेताहरू पर्टीहरुबाट निजात पाउन चाहिरहेको अवस्था छ । यो अवस्थामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरु त्यसमा उपयुक्त भएको मैले ठहर गरेको छु । राष्ट्रिय जनमोर्चालाई दैलेखी जनताले विश्वास गरेसँगै मेरो विजय सुनिश्चित हुन्छ । दैलेखी जनताले यस पटक चुनाव चिन्ह गिलासमा मतदान गरी राष्ट्रिय जनमोर्चाका उमेद्वारहरुलाई जिताउने छन् भन्ने पूर्ण आशामा छु ।

७. चुनाव जितेमा प्रवासी नेपालीहरूका समस्याहरू समाधान बारे र मताधिकार पाउनु पर्ने विषयलाई संसद्मा उठाउनु हुन्छ त ?

– अवश्य आवाज उठाउने छु । प्रवासमा प्रवासी नेपालीहरूले जुन दुःख पिडा भोग्नुपरेको छ, त्यो मैले प्रत्यक्ष आफ्ना आँखाले देखेकोछु, स्वयम् मैले पनि भोगेको छु, सुनेकोछु, बुझेकोछु त्यसैले प्रवासीहरुका समस्यालाई एक बार होइन बार बार संसद्मा कुरा उठाउनु पर्ने आवश्यक छ । यो विषयलाई मेरो जितले मात्रै सुनिश्चित गर्दछ भनेर म भन्दैन । नेपाली जनताका समस्याहरू बारे राम्रोसँग बुझ्ने जान्ने र सदा नेपाली जनताका सेवामा खटिनु हुने नेताहरूले उठाउनु पर्ने विषय हो ।

स्वदेशमा रोजगारीको लागि राज्यबाट उपयुक्त पहल हुन्थ्यो भने नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाउनु पर्ने थिएन । चुनावमा भोट माग्ने वेलामा गरिने प्रतिबद्धता जित पश्चात् समाप्त भएर गएका छन् । यो नौलो भने होइन । खाडीका मुलुकहरुबाट नेपाली युवाहरूको शव बाकसमा प्याक भएर आउँछ तर उनीहरूका घर परिवारले पाउनु पर्ने सामान्य बिमाको रकमलाई समेत पटक पटक श्रम मन्त्रालय तथा विदेश मन्त्रालय धाउनु पर्ने बाध्यता पनि हामीले देखिरहेका छौँ । यो सबै समस्या समाधानका लागि योग्य, इमान्दार व्यक्तिलाई मात्र राज्य सञ्चालनको तहसम्म पु¥याउनु पर्ने हुन्छ, जो राष्ट्रिय जनमोर्चाका उमेद्वार बाहेक अन्यबाट होला भन्ने कल्पना गर्न पनि मुस्किल हुन्छ ।

हामीले भारत प्रवास लगायत विश्वका विभिन्न मुलुकहरुबाट प्रवासी नेपालीहरूको मताधिकारको आवाज उठायौं र हाल पनि त्यो मुद्दा कायम नै छ । देशमा दुई–दुई पटक संविधान सभाको निर्वाचन सम्पन्न भयो तर दुःखको कुरा देशको एक चौथाई जनमतलाई छोडीयो । हामीले पटक–पटक नेपाल सरकार समक्ष प्रवासी नेपालीहरूको मताधिकारको विषयलाई उठायौं तर कतैबाट समस्या समाधान भएन ।

केपी ओलीको कार्यकालमा प्रवासी नेपालीहरूको मताधिकारका लागि योजना समेत त प्रस्तुत भएको थियो तर त्यस पछिका सरकारहरुबाट त्यो कार्य रद्दीको टोकरीमा पुग्यो । यसटक राष्ट्रिय जनमोर्चाले प्रवासी नेपालीहरूका समस्याहरुलाई ठिकसँग संसद्मा पु¥याउने योजनाका साथ प्रवासी नेपालीहरूको प्रतिनिधिको रूपमा मलाई दैलेख प्रतिनिधि सभा क्षेत्रमा २ बाट उमेद्वार उठाएको छ । यो क्षेत्रका मतदाताहरुले मलाई विश्वास गर्नु भएछ भने म अवश्य नै प्रवासी नेपालीहरूका समस्याहरुलाई संसद्मा उठाउने छु । त्यसका साथै दैलेखमा पिछडीएका गाउँ बस्तीमा, बिजुली, खानेपानी, शिक्षा, सडक, स्वास्थ्य आदिका लागि सशक्त रूपमा काम गर्ने छु ।

८. तपाईँको पारिवारिक अवस्था कस्तो छ ?

–बाल्यकाल मै मातृ शोक परेपछी सार्है कठिनाइ भोग्नुपरेको थियो । आर्थिक स्थिति सार्है कमजोर थियो, खान लाउनसम्म अप्ठ्यारो अवस्था थियो । जग्गा जमिन बेचेर उपचारको लागि भारत प्रस्थान गर्न बाध्य भएँ । बुबाको अर्को विवाह भएपछि घरमा केही खानाको व्यवस्था भयो । आफू अहमदाबादको होटेलमा नौकरी लागेपछी आर्थिक अवस्था केही सुधार भयो । त्यसपछि अखिल भारत नेपाली एकता समाजमा लागें । एकता समाजले आर्थिक मितव्यायीताका बारेमा राम्रोसँग सिकायो । काम गर्दागर्दै तेस्रो राष्ट्र कुवैत पुगेपछि आर्थिक स्थिति सामान्य सुधार भयो र खान बस्नको लागि सहज भयो ।

कुवैतमा हुँदाहँुदै पितृ शोकमा परें । स्वदेश फर्किएँ फेरी घरमा आर्थिक समस्या प¥यो । सानी आमा र स–साना भाइ बहिनीहरू थिए, उनीहरूको स्याहर सुसारको जिम्मेवारी पनि थपियो । अरू केही साहारा थिएन, त्यसैले पुनः गुजरातको नाडियाड आएर नानकिङ भिमसिंह चाईनिज फुडको हाते गाडी खोलेर सडकको छेउमा लगाई व्यवसाय सुरु गरेको थिएँ । बिस्तारै नानकिङ भिमसिंह चाईनिज प्रख्यात भयो । हालका दिनमा मलाई गुजरातीहरु भीम सिंह चाईनिज भनेर चिन्छन् । आर्थिक रूपमा पनि राम्रो प्रगति गरेको अवस्था छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट त झनै धेरै परिचित भएको छु । हाल नेपालमा आफ्नो घर व्यवसायसम्म गर्न सफल भएको छु । सुर्खेतमा मन्जु फुड प्रोडक्ट चाउमिन, सोस उद्योगबाट पनि चिनिन्छु । समग्रमा भन्नु पर्दा वर्तमान अवस्थामा मेरो आर्थिक अवस्था ठिकठाक चलेको छ । अहिले परिवारको सबैबाट राम्रो सहयोग र समर्थन छ ।

९. अहिलेसम्म सामाजिक कामहरू के के गर्नु भयो ?

– आजसम्म सामाजिक कामकाज मै होमिंदै आए छु । सन २६ जनवरी २००१ मा गुजरातमा आएको विनाशकारी भूकम्पमा परी पाकिस्तानको बोर्डर नजिक गांधी धाम, कच्छ भुज, अहमदाबाद सबैठाँउ गरी १६ जना नेपालीहरू अपलत्र परेका थिए भने ७ जनाले ज्यान गुमाएका थिए । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले म लगायत एउटा टिम त्यहाँ पठाएको थियो । उक्त टिमले नेपाल जानकारी गरायो र पुरै दश दिन भूकम्प सेवामा लाग्यो । अलपत्र परेकालाई सहयोग गरियो स्वदेशसम्म पु¥याइयो र मृतकको क्षतिपूर्तिको माग गरियो ।

त्यस्तै अहमदाबाद होटेल मालिकले मुकेश भण्डारीलाई तन्दुरमा हालेर जलाउँदा दीपक पाण्डेको नेतृत्वमा धेरै साथीहरू सहित जुलुस आन्दोलन सहित गुजरातको राजधानी गाँधी नगर पुगी मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईयो । पीडितले न्याय र क्षतीपूर्तीका लागि सङ्घर्ष गरियो ।राजकोट गिरीश विक काण्डमा पनि मेरो नेतृत्वमा प्रतिनिधि मण्डल पुगी न्याय दिलाउने काम भएको थियो । भारतमा भएका अत्याधिक घटनाहरूमा तथा अलपत्र परेका चेलीबेटीहरुलाई आर्थिक सहयोग गरी नेपाल पठाउनेदेखि लिएर मानसिक सन्तुलन बिग्रेका समेतलाई आर्थिक सहयोग गरिएको छ । विभिन्न स्थानहरुमा दुर्घटनामा परेकाहरुको उद्धार, होटेलमा काम गरेर पश्चात् तलब नपाएकाहरुलाई तलब दिलाउने काम समेत गरिएको छ ।

तेस्रो मुलुक पठाउने बहानामा ठगिएकाहरुलाई सहयोग गरी नेपाल पठाउने, अर्काको श्रीमती भगाएर भारतमा ल्याई अलपत्र पार्नेहरुलाई कार्यवाही र अलपत्र परेका चेलीहरुलाई व्यक्तिगत रूपमा पनि आर्थिक सहयोग गरी नेपाल पठाउने लगायतका धेरै उदाहरणहरू छन् । नराम्रा दूव्र्यशनहरुमा लागेका युवाहरूलाई थुप्रै सुधारका कामहरू पनि भएका छन् । संकटकालका वेला दुल्लुमा मावोबादी आक्रमणमा परि घाइतेहरुलाई सहयोग पु¥याइएको थियो । अपर कर्णाली सम्झौता खारेज हुनुपर्ने मागको आन्दोलनलाई आर्थिक सहयोग सहित आन्दोलनमा सरिक भएको थियो । काठमाण्डौमा २०७२ वैशाख १२ गतेको आएको विनाशकारी भूकम्पबाट पडितहरुलाई आर्थिक सहयोग गरिएको थियो ।

१०. अन्तमा केही छ कि ?

अन्तमा, मैले यो चुनावी परिवेशमा आफ्नो विचार राख्न दिनु हुने पत्रपत्रिका लगायत अन्लाईन मिडियाहरु प्रतिका हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।