कपिलबस्तुका सडकमा खाडलै खाडल
कपिलवस्तु । मर्मततर्फ चासो नदिइँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लामा पर्ने पिपरादेखि धान खोलासम्मको ५२ किमि सडकमा रहेको खाल्टाखुल्टी धराप बन्दै गएको छ ।
ठाउँ ठाउँमा रहेको खाल्टो मर्मत नगरिँदा दुर्घटनासमेत बढ्दै गएको छ । ट्राफिक कार्यालयका अनुसार असोजको पहिलो साता मात्र पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कपिलवस्तु सडक खण्डमा असोज महिना भित्र ४ वटा सडक दुर्घटना भएका छन् । २ वटा बस तथा २ वटा ट्रक दुर्घटनामा परे । ३ जनाको मृत्यु भयो भने १ जना गम्भीर घाइते भए । राजमार्गमा हाल हुने गरेका यस प्रकारका साना–ठूला दुर्घटना सडकको दुराअवस्था र त्यसमाथि चल्ने तीव्र गतिका साधनका कारण हुने गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गको अधिकांश सडक जीर्ण बनेको छ । कोठी खोलादेखि धानखोलासम्मको कालोपत्रे सडक अहिले सवारीसाधनको लागि एम्बुस सरह बनेको छ ।
बढ्दो सवारी चाप, सवारी ओभरलोड, कमसल सडक निर्माण तथा मर्मतले यतिखेर राजमार्गका अधिकांश भाग जीर्ण छन् । यो सडक अहिले दुर्घटनाको मुख्य कारण बन्दै गएको छ ।
विशेष गरी कोठी खोला, वनगाई, गोरुसिंगे, डुमरा तथा शिवपुरदेखि धानखोलासम्मको १६ किमी सडक जर्जर बनेको छ । ठूला–ठूला खाडल, उप्किएको कालोपत्रे, भत्किएका सडक र सडक किनारका संरचनाले सडकमा हिंड्ने यात्रुले समेत सास्ती भोग्न बाध्य छन् । डिभिजन सडक कार्यालयले जीर्ण सडक टालटुल गरे पनि हप्ता दिन बढी नटिक्ने यातायात व्यवसायी बताउँछन् ।
‘सुगम भएर पनि दुर्गममा झैँ गाडी चलाउनुपरेको छ’– पश्चिम नेपाल बस व्यवासायी महासंघमार्फत् चल्ने बसका चालक कृष्ण आचार्यले भने ।
डिभिजन सडक कार्यालय शिवपुरले सडक पुरानो भएकाले मर्मत गरेर मात्रै नहुने बताउँछ । सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनियर रमेश पौडेलले सडकको चाप र ओभरलोडका कारण म्याद अगावै सडक जीर्ण बन्ने बताए । ४ दशकभन्दा पुरानो सडकलाई पूरा भत्काएर मर्मत नगरिँदा यो समस्याको समाधान नहुने उनी बताउँछन् । ‘यसका लागि माथि पहल गरेको छु सम्भवत केही बजेट यस वर्ष आउँछ’– उनले भने ।
सडक कार्यालयले तत्कालका लागि भने जीर्ण सडक मर्मतका लागि टेन्डर सूचना प्रकाशित गरिसकेको छ । तर अत्यधिक सवारी चापका कारण सडक राम्ररी मर्मत तथा निर्माण गर्न नसक्नु अर्को समस्या रहेको सडक इन्जिनियरहरू बताउँछन् । ‘वैकल्पिक मार्ग नहुँदा मर्मत तथा नयाँ निर्माण गर्न निकै समस्या छ’– इन्जिनियर मनिष शाहले भने ।
सडककै कर्मचारी र ठेकेदारको लापरवाहीले नै गुणस्तरीय सडक निर्माण नहुने गरेको गुनासो स्थानीयबासीको छ । हालै मात्र सडक रिसिलिङ्ग भइरहेका स्थानमा कमसल काम भएको भन्दै स्थानीयसबासीहरूले विरोध गर्दै आएका छन् । बुद्धभूमि नगरपालिकाअन्तर्गतको पूर्व पश्चिम राजमार्गको इमिलिया खण्डमा भइरहेको रिसिलिङ् कार्यमा ठेकेदारले थोरै विटमिन प्रयोग गरेको र गुणस्तरहीन जिरा गिट्टी प्रयोग गरेको स्थानीय भुपाल लामिछानेको आरोप छ ।
‘रिसिलिङ्ग गरेको एक सातामै सबै जिरा उप्किएर सडक किनारमा पुगेको छ’, उनले भने । कमसल कामबारे सडक र साइट इन्जिनियरलाई गुनासो गरे पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे । पूर्वपश्चिम राजमार्गको १५ किमी र मर्यादपुर तौलिहवाको ११ किमी सडक रि–सिलिङ्ग गर्न डिभिजन सडक कार्यालयले अमर कन्ट्रक्सनलाई ४ करोड ५ लाखमा ठेक्का दिएको छ । सडक जीर्ण हुनुको अर्को मुख्य कारण देखिएको ओभरलोड नियन्त्रणप्रति पनि आशंकाहरू देखिएका छन् ।
उक्त सडकमा ६ चक्के ट्रकले ८ र १२ चक्के सडकले १६ टनका दरले ढुवानी गर्न पाउँछन् । सडक सुरक्षा र यातायात कानून व्यवस्थापनको जिम्मेवारी पाएको ट्राफिक प्रहरीले काम गरेको देखिए पनि चुहावट भने उत्तिकै छ ।
कुनै बेला ओभरलोड गाडी देख्ने बित्तिकै कारवाही गरिहाल्ने ट्राफिक प्रहरी अहिले भने सुस्त देखिएको छ । माथिल्लो दबाब र यातायात व्यवसायी संघको मिलेमतोमा कपिलवस्तु ट्राफिक प्रहरीले जरिवाना काटेर मात्रै ओभरलोडलाई वैधानिकता दिइरहेको श्रोतको दाबी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो २ महिनाको तथ्यांकबाट पनि यो केही हदसम्म पुष्टि हुन्छ । भदौ महिनामा ५ सय ९९ सवारी साधनलाई ओभरलोड गरेको भन्दै ट्राफिकले कारवाही गरेको थियो । तर असोज महिनाभित्र भने यो संख्या बढेर ६४० पुग्यो ।
तथ्यांकको आधारमा गत महिनाभन्दा यस महिना ओभरलोड अझ बढेको छ । ढुवानी व्यवसायीहरू ओभरलोड जरिवाना तिरेरै सडक क्षमता भन्दा बढी माल ढुवानी गर्ने गरेका छन् । तर ट्राफिक प्रहरीले पटके ओभरलोड साधनलाई भने थप कारवाही नगरी छाड्ने गरेको श्रोतको दाबी छ । जरिवाना तिरेर पनि फाइदा हुने भएपछि ओभरलोड नियन्त्रणमा आउन सकेको छैन ।
जसका कारण सडक भासिने, बिग्रने र मर्मत सडक उप्किने गरेको सडक प्राविधिकहरूको दाबी छ । तर जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने सडक जीर्ण भएका कारण दुर्घटना भए पनि सडक सुरक्षामा आफूहरू गम्भीर रहेको जनाएको छ । ट्राफिक प्रहरी निरीक्षक अमरबहादुर कार्कीले ओभरलोड नियन्त्रणमा पहिलाभन्दा धेरै सफलता पाए पनि अझै पूर्ण नियन्त्रणमा नआएको बताए ।
‘हामी कसैको दबाब र प्रभावमा छैनौँ, नियमानुसार कारवाही र जाँचमा कडाइ गरेका छौँ’, उनले भने । जीर्ण सडक पुनःनिर्माण र मर्मत नगरिँदा दुर्घटनाका घटनाहरूमा वृद्धि भइरहेको छ भने यात्रुहरू सास्ती खेप्न बाध्य छन् । मर्मत गरेका सडक नटिक्ने र म्याद नाघेका सडक पुनःनिर्माण नगरिँदा पूर्व–पश्चिम राजमार्ग ज्यानमारा एम्बुस सरह बनेको छ ।