चिकित्सा शिक्षा विधेयक नआउने, डा. केसीको सत्याग्रहको मूल्य के ?
काठमाडौँ, २८ असोज–
प्रा.डा. गोविन्द केसीको मुख्य मागका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने निश्चित भएको खबर नयाँ पत्रिकाले छापेको छ ।
व्यवस्थापिका–संसद् शनिबारदेखि स्वतः विघटन हुने भएपछि विधेयक संसद्मै अलपत्र परेको छ । माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन जस्ताको त्यस्तै ऐनका रूपमा आउनुपर्ने माग गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डा. केसी विगत नौ दिनदेखि अनशनमा छन् ।
शुक्रबार बसेको संसद्को अन्तिम बैठकबाट विधेयक पास गराउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका शीर्ष नेतासँग अन्तिम समयसम्म प्रयास गरे पनि सफल हुन सकेन ।
केसीका मागमा सहमति खोज्न सभामुखले राखेको शीर्ष नेता सम्मिलित प्रमुख सचेतकहरूको बैठकमा सहमति जुट्न नसकेपछि विधेयक नआउने निश्चित भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।
उनले अब संसद्बाट चिकित्सा शिक्षा विधेयक पास हुने आशा टरेको बताए । ‘चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने भयो,’ शर्माले भने, ‘तीन दलका शीर्ष नेता र प्रमुख सचेतकसँग भएको छलफल कुनै निष्कर्षमा पुगेन ।’
डा. केसीले अनशनलाई निरन्तरता दिएका छन् । शुक्रबार सरकारी वार्ताटोलीसँग भएको छलफल सकारात्मक रूपमा अगाडि बढे पनि बुँदागत रूपमा जान नसकेको केसीका सहयोगी डा. जीवन क्षेत्रीले बताए ।
शुक्रबार संसद्को अन्तिम बैठक बसेको छ, विधेयक पारित हुन सकेन, यो अवस्थामा हामी कसरी अगाडि बढ्ने भन्नेमा रणनीति बनाउनेछौँ,’ डा. क्षेत्रीले भने । संसद् विघटन भए पनि वार्ता र संवादको ढोका खुला रहेको उनको भनाइ छ । चिकित्सा शिक्षा विधेयकबारे कुन रणनीति अपनाउने भन्नेमा एक–दुई दिनमै धारणा बाहिर ल्याउने डा. क्षेत्रीले स्पष्ट पारे ।