सल्यानमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

सल्यानमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन



सल्यान, २५ असोज । जडीबुटीका लागि प्रख्यात जिल्ला हो सल्यान । यहाँ विभिन्न प्रकारका औषधिमूलक र बहुउपयोगी जडीबुटी पाइन्छ । जिल्लामा जडीबुटी प्रशस्त मात्रामा पाइने गरे पनि यसको प्रशोधनको लागि कुनै केन्द्र स्थापना गरिएको थिएन ।

पछिल्लो समय जिल्लामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं १५ मूलडाँडामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । माँ लक्ष्मी हर्वल उद्योगले सो केन्द्र सञ्चालनमा ल्याएको हो ।

माँ लक्ष्मी हर्वल उद्योगका सञ्चालक हरि न्यौपानेले करिब ६० लाखको लागतमा निमित्त उक्त उद्योगले खेर गई रहेका जडीबुटी र बनस्पतिलाई संकलन गरेर मोहर बनाउने र कृषकहरूलाई उत्पादनमा आकर्षित गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘स्थानीय स्तरमा उत्पादन हुने जडीबुटी र प्रशोधन गरेर बजारीकरण गर्न उद्योग सञ्चालनमा ल्याएका छौँ’ –उनले भने ।

उनले गाउँघरमा प्रयाप्त मात्रामा पाइने जडीबुटी सस्तो रूपमा निकासी गरी प्रशोधित गर्ने बताए । उनले भने –‘जडीबुटी महंगोमा किन्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यका साथ जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हौँ ।’

‘जडीबुटीका लागि प्रख्यात क्षेत्रका रूपमा रहेका सल्यान, रुकुम, रोल्पा, जाजरकोट, सुर्खेतलाई मध्यनजर गरी उद्योग सञ्चालनमा ल्याएका हौँ,’ अर्का सञ्चालक विरबहादुर चलाउनेले बताए । बनपाखा, खोल्सा खोल्सीमा पाइने टिमुर, तेजपात, जटामसी, मलागेरी, सुगुन्धगेरी, रोजवेरीलगायतका जडीबुटी तथा बनस्पति संकलन गरेर गाउँकै उद्योगमा बेचेर कृषकले राम्रो आम्दानी लिन सक्ने उनले बताए ।

अहिले बजारमा प्रशोधित तेलको मूल्य उच्च रहेको छ । अहिले प्रशोधन केन्द्रले पहिलो चरणमा टिमुरको तेल निकाल्न सुरुवात गरेको छ । बजारमा अहिले टिमुरको तेलको मूल्य प्रतिलिटर १० देखि १२ हजार रूपैयाँ रहेको छ । प्रशोधन केन्द्रमा अहिले स्थानीयले रोजगारी समेत पाएका छन् ।

जिल्लाबाट टिमुर, तेजपात, रिठा, काउलोको बोक्रा, चुक्रोको बोक्रालगायतका जडीबुटी करोडौका दरले बर्षेनि निकासी हुने गरेको जिल्ला वन कार्यालय सल्यानले जानकारी दिएको छ । आर्थिक वर्ष २०७३ ÷०७४ मा मात्र यहाँ बाट ३ लाख ९५ हजार ५ सय किलो टिमुर निकासी भएको छ । यस बाट करोडौँ रूपैयाँ भित्रिएको छ ।