मधेसमा दल बदल्ने होड, टिकटको आसमा पार्टी प्रवेश - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

मधेसमा दल बदल्ने होड, टिकटको आसमा पार्टी प्रवेश



काठमाडौं, १९ असोज ।

मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेशसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलका नेता–कार्यकर्तामा पार्टी फेर्ने होड चलेको छ ।

उनीहरूका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले रातो कार्पेट बिछ्याएका छन् । मधेसी दलका नेता–कार्यकर्तालाई रातो टीका लगाएर आफ्नो पार्टीमा स्वागत गर्ने होड तीनै दलबीच चलिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल असोज ५ देखि कृष्णनगर आई पार्टीमा नवप्रवेशीलाई स्वागत गरेसँगै यहाँको माहोल तातेको हो । यहाँ ठूला पार्टी छाड्नेभन्दा पनि साना पार्टीका नेता–कार्यकर्ता ठूला पार्टीमा प्रवेश गर्ने क्रम तीव्र छ ।

दाहालले फोरम नेपालका जिल्ला नेतालाई पार्टी प्रवेश गराएकै दिन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्ववरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापालाई पार्टीमा स्वागत गरे । चन्द्रौटामा आयोजित कार्यक्रममा थापासँगै राप्रपा नेपालका आमन्त्रित सदस्य अजय थापा पनि कांग्रेस   प्रवेश गरे ।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य असरारुद्दिन मुसलमान मंगलबार एमालेमा प्रवेश गरे । केही समय पार्टीको विदेश विभागमा रहेका मुसलमानलाई पकडीमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदिप ज्ञवालीले फूलमाला पहिर्‍याएर पार्टीमा भित्र्याए । उनीसँगै धेरै नेता एमाले प्रवेश गरे ।

असोज ८ मा राजपाका सहमहासचिव मिर्जाअरसद बेग एमाले प्रवेश गरेसँगै सुरु भएको अभियानले सोमबार ठूलो फडको मार्‍यो ।

जिल्लाका प्रभावशाली नेता तथा राजपाका उपमहासचिव बृजेशकुमार गुप्ता र केन्द्रीय सदस्य ईश्वरदयाल मिश्र सूर्य चिह्नबाट आगामी निर्वाचन लड्ने भएका छन् ।

उनीहरूले प्रवेश नगरे पनि एमालेसँग नजिकिएर सहकार्य गर्ने बताएका छन् । गुप्ता पूर्वमन्त्री तथा मिश्र पूर्वराज्यमन्त्री हुन् । आजको कान्तिपुरमा खबर छ ।