मदन भण्डारीको जबज अँगाल्न माओवादी छाड्दै प्रचण्ड - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

मदन भण्डारीको जबज अँगाल्न माओवादी छाड्दै प्रचण्ड



काठमाडौं। नेपाली राजनीतिको इतिहासमा असोज १७ एक ऐतिहासिक दिनको रुपमा याद राखिने छ। नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरुले एकीकृत हुने घोषणा गरेको दिन हो यो। यी तीन पार्टीका लागि एकीकरणको घोषणा जति सहज भएको छ वास्तविक एकीकरण हुन कठीन हुने आँकलन सजिलै गर्न सकिन्छ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता चुनावको मुखमा हुनुलाई केही विश्लेषकहरुले चुनावी रणनीति मात्र हो भनेका छन भने केहीको विचार वाम एकताको पुरानो सपना साकार हुने पंक्तिमा उभिएको छ।

मुलत: दुई पार्टीले अंक गणितीय हिसाबमा चुानवी तालमेल त गरे तर पार्टी चल्ने मुल कुरो सिद्धान्तमा अहिलेसम्म कुनै बहस नहुनुले एकताको कुरालाई शंकाको घेरामा राखेको छ। दुई वा दुई भन्दा बढी पार्टी मिल्दा हुन पर्ने सिद्धान्त-विचारको एकता महत्वपूर्ण हुने कुरामा कसैको दुईमत नहोला तर जनताको बहुदलीय जनवाद र माओवाद अंगालेको दुई भिन्न पार्टी मिल्दाको सिद्धान्त के हुने भन्ने बारेमा छलफल भने भएको छैन्।

नेकपा एमालेका पार्टी सचिव प्रदिप ज्ञवालीका अनुसार निर्वाचन पछि सिद्धान्तमा बहस हुनेछ र एमालेको जबज र एमालेको माओवादलाई फ्युजन गरेर नयाँ सिद्धान्तको जग खडा गरिने छ। ज्ञवालीका अनुसार दुवै पार्टी नेपाली माटो सुहाउँदो मार्क्सवादमा सैद्धान्तिक सहमतिमा आउने छन्।

ज्ञवालीका अनुसार मार्क्सवाद नै मुल सिद्धान्तका रुपमा नयाँ पार्टीले अँगाल्ने छ। यसको अर्थ माओवादी केन्द्रले आफ्नो माओवादी सिद्धान्तलाई बिसर्जन गर्नेछ र नेकपा एमालेको जनताको बहुदलीय जनवादमा थौरै परिमार्जन गरेर नयाँ सिद्धान्त अँगाल्ने छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जुन माओवादको जगमा जनयुद्ध र संविधानसभाबाट संविधान निर्माणको काम फत्ते गरे, के अब उक्त माओवाद असान्दर्भिक भएको हो ? माओवादी कार्यकर्ता-नेताले पक्कै प्रश्न गर्ने छन्।

नेपाली राजनीतिमा माओवादलाई मुल-सिद्धान्तका रुपमा अंगालेर आएका नेता कार्यकर्ताहरुलाई प्रचण्डले कसरी मनाउने छन् ? यो त आउने दिनले देखाउने छ। आफ्नो मूल सिद्धान्तबाट स्खलित भएकोमा धेरै नेता कार्यकर्ता नयाँ एकीकृत पार्टीमा नजाने संभावना पनि उत्तिकै रहेको छ।

यसैगरी नेकपा एमालेमा आफ्नो जीवन बिताएका नेता कार्यकर्तालाई पनि माओवादी आफ्नो पार्टीमा समावेश हुँदा आफुले छाड्नु पर्ने स्थानले अवश्य पनि मर्माहत बनाउने नै छ। प्रचण्ड र केपी ओलीका अगाडि यस्ता धेरै चुनौतीहरु रहेका छन्। पार्टी भौतिक रुपमा एक हुनु र मनोवैज्ञानिक रुपमा एक हुनु दुई नितान्त फरक कुराहरु हुन्। भावनात्मक एकताले साँच्चै नै ठूलो पार्टीको निर्माण हुनेछ र नेपाली राजनीतिमा पनि स्थिर सरकार र राजनीति देख्न पाईने सम्भावना रहेको छ।

निर्वाचन पछि दुई पार्टीको एकताको महाधिवेशन हुनेछ र त्यस्ले प्रष्ट पार्नेछ नेपाली बाम एकताको चाहनाले कस्तो रुप लिनेछ । दुर्इ कम्युनिष्ट पार्टी मिल्दा नाम पनि परिवर्तन हुनेछ। के नयाँ पार्टीको नाममा कम्युनिष्ट शब्द रहने छ ?