काम नै गर्दैनन सिसिटिभी क्यामेरा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

काम नै गर्दैनन सिसिटिभी क्यामेरा



पाल्पा, २ असोज । जिल्ला प्रहरी कार्यालयले जडान गरेको सिसिटिभी बिग्रेको छ । विभिन्न संघसंस्था, कार्यालयको सहयोगमा जडान गरेको सिसिटिभी चार वर्षपछि अहिले कामै नलाग्ने गरी बिग्रिएको छ । यसरी बिग्रदा प्रहरीलाई नै सकस भएको छ ।

२०७० सालमा जडान गरिएको सिसिटिभीले अहिले काम गरेको छैन । जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रूपमा राखिएको सिसिटिभिले बजार क्षेत्रकासाथै कारागारमासमेत निगरानी गर्न सहज भएको थियो ।

पछिल्लो समय चोरीका घटना भएपछि सर्वसाधारणको समेत प्रहरी कार्यालयमा रहेको सिसिटिभीप्रति चासो देखिएको छ । जनताले प्रहरीको सिसिटिभी के भयो ? किन चोर पत्ता लगाउन सकेको छैन ? भन्ने चासो गर्न थालेका छन् । अहिले प्रहरीलाई गस्ती हरेक क्षेत्रमा गर्नु परेको छ । किन भने सिसिटिभीले धेरै काम गरेको थियो । प्रहरी कन्ट्रोल रुममै बसेर पनि निगरानी गर्न सहज भएको थियो । यतिबेला कार्यालय प्रमुख सरुवा भएर गईसकेको र सरुवा भएर आएका प्रमुखले बुझ्न नभ्याएर हो वा किन हो यस बारेमा चासो कम देखिएको गुनासो सर्वसाधारणको छ ।

सदरमुकाम तानसेनका मुख्य मुख्य चोकमा सिसिटिभी जडान गरिएको थियो । आठ वटा क्यामेरा राखिएको छ । निकै शक्तिशाली क्यामेरा भएकाले यसले घटना नियन्त्रणमासमेत सहयोग गरेको थियो । आठ वटा क्यामेराले लगभग तानसेनको सुरक्षालाई कभर गरेको थियो । शान्ति सुरÔा कायम गर्न सहयोग पुर्याउने उद्देश्यले राखिएको सिसिटिभीको भव्य कार्यक्रम गरेर उद्घाटन गरिएको थियो ।

सिसिटिभी जडानले प्रहरीलाई अपराध रोकथाम र अनुसन्धानको कार्यलाई सहयोग पुर्याएको थियो । समग्र शान्ति सुरक्षामा समेत सहयोग पुग्ने भएकाले प्रहरीको कार्यक्षमता र दक्षतालाई यसबाट फाइदा पुगेको थियो । उद्योग वाणिज्य संघको अगुवाइमा ९ लाख १७ हजारको लागतमा सिसिटिभी जडान गरिएको हो । तानसेन नगरपालिकाले ३ लाख, उवासंघले २ लाख १७ हजार, जिविसले १ लाख, सुनचांँदी व्यवसायीले १ लाख, नवजनचेतना दैनिकले १० हजार, वैंक तथा वित्तिय संस्था लगायतले सहयोग गरेका थिए ।

तानसेनको कारागार, बसपार्क, मखनटोल, नारायणस्थान चोक, विशालबजार, सिल्खानटोल, शितलपाटी लगायतका स्थानमा क्यामरा जडान गरिएको थियो । प्रहरीले आफ्नै कन्ट्रोल रुमबाट अवलोकन अनुसन्धान गर्ने व्यवस्था मिलाइएको थियो । सीसीटिभी जडानले अपराधिक गतिविधि कम हुनुका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने डिएसपी रमेश पण्डितले बताए ।

उनले शान्ति सुरक्षा कायम गर्न सिसिटिभीले सहयोग पुर्याउने बताउदै यसलाई दिगो व्यवस्थापनको खांँचो रहेको बताए । एउटामात्र संस्थाको स्वामित्वभन्दा पनि सबैको सहयोग रह्यो भने पक्कै पनि यसलाई निरन्तरता दिन सकिने बताए । उनले सिसिटिभी बिग्रता निकै सास्ती बेहोर्नु परेको समेत बताए । ‘हामीले क्षेत्रबाट समेत प्राविधिक ल्याएर बनाउन लगाएका हौं,’ उनले भने, ‘प्राविधिकले नसकेपछि यसलाई मभन्दा माथिल्लो निकायमा जाहेर गरिसकेको छु ।’ उनका अनुसार तत्काल बनाउन सकियो भने मात्रै हामी आफैलाई सहयोग पुग्नेछ ।

पछिल्लो समयमा सदरमुकाम तानसेन बजारमा दिनहुँ चोरीका घटना भएको छ । दैनिकजसो होटल, पसल र घरमा चोरको विगविगी बढेपछि सर्वसाधारण पनि यसको चासो देखाउन थालेका हुन् । दैनिकजसो बजार क्षेत्रमै ताला फोडेर चोरी हुन थालेपछि स्थानीयमा त्रास बढेको सर्वसाधारणको गुनासो छ ।
तानसेनको मुख्य बजार क्षेत्रमै यस्ता चोरीका घटना बढेका हुन् । सिसिटिभी भए यस्ता चोरीका घटनामा संलग्नलाई पक्राउ गर्न सहज हुने थियो । लहरेपिपल, सिल्खानटोल, नारायणस्थान, मेहल्धारामा चोरीका घटना भए ।

तानसेन–तम्घास सडक, मिसन अस्पताल जाने बाटो र भित्री सडक क्षेत्रमा चोरीका घटना भएको हो । एभरेष्ट कम्प्युटर एण्ड एजुकेशनल कन्सल्टेन्सीका संचालक गुँरास आत्रेयले प्रहरीले सिसिटिभीलाई चुस्त दुरुस्त राख्न सक्यो भने चोरीका घटनामा संलग्नलाई पक्राउ गर्न सहज हुने बताए । उनले धेरै कुरामा फाइदा हुने भएकाले यसलाई मर्मत गरेर छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिए ।