स्वास्थ्यमन्त्रीको सम्पत्ति : ८ लाख रुपैँया र दुई ओटा ल्यापटप - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

स्वास्थ्यमन्त्रीको सम्पत्ति : ८ लाख रुपैँया र दुई ओटा ल्यापटप



भदौ २३, काठमाडौं-

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आफ्नो नाममा कुनै पनि अचल सम्पत्ति नरहेको बताएका छन्। आज सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले आफूसँग केही बैंक ब्यालेन्स, सञ्चार सामाग्री र सामान्य अत्यावश्यक फर्निचरहरु मात्रै रहेको बताए।

मन्त्री पोखरेलले शुक्रबार आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाए।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार आफ्नो नाममा एभरेष्ट बैङ्क लिमिटेड पुल्चोक शाखामा आठ लाख १५ हजार दुइसय ६७ रुपैया ७१ पैसा र नेपाल बंगलादेश बैङ्क कमलादी शाखामा १३ हजार नौ सय ९३ रुपैया ८० पैसा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ।

उनले सो रकम संविधानसभा सदस्य, मन्त्री तथा व्यववस्थापिकाको प्रमुख सचेतकको रुपमा रहँदा प्राप्त पारिश्रमिक रहेको बताए। मन्त्री पोखरेलको बुबाको नाममा खोटाङ्ग जिल्ला लामीडाँडा गाउँपालिका २ मा २३ रोपनी जग्गा रहेको छ । जुन सम्पत्ति पैत्रिक सम्पत्तिको रुपमा रहेको छ। उक्त जग्गामध्ये मन्त्री पोखरेलको अंशमा पर्ने जग्गा कनककुमारी स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ।

यस्तै स्वास्थ्य मन्त्री पोखरेलले खोटाङ्गस्थित रुपाकोट सामुदायिक रेडियोमा पाँचहजार रुपैँया सेयर रहेको उल्लेख गरेका छन्। उनीसंग दुई वटा ल्यापटप, डिजिटल क्यामरा, कम्युटर प्रिन्टर, डेस्कटप कम्युटर, भिडियो क्यामरा र केही फर्निचरका समानहरु रहेका छन्।