निजामती सेवामा ४० जना व्यक्ति पुरस्कृत हुदै तर, सर्वोत्कृष्ठ कर्मचारी भेटिएन - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

निजामती सेवामा ४० जना व्यक्ति पुरस्कृत हुदै तर, सर्वोत्कृष्ठ कर्मचारी भेटिएन



भदौ २२, काठमाडौं –

सरकारले चौधौँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरेको छ, ४० जना पुरस्कृत व्यक्तिको नाम सार्वजनिक भएपनि सर्वोत्कृष्ठ व्यक्ति भेटिएन ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई यस वर्ष निजामती सेवा पुरस्कार दिइने छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने बताइएको छ । रु दुई लाख राशि भएको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’मा भने यस वर्ष कसैलाई पनि नदिइने उनले बताए । सर्वोत्कृष्टका लागि नाम आए पनि उपयुक्त नठानिएकाले नदिइएको उनको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकले सोमबार गरेको निर्णय अनुसार आज मन्त्रालयले नाम सार्वजनिक गरेको हो ।

रु एक लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सहसचिव दीपक सुवेदी, सहसचिव डिल्लीराज घिमिरे, सहसचिव केवलप्रसाद भण्डारी, उपसचिव प्रेमलाल लामिछाने, महालेखा परीक्षकको कार्यालयका निर्देशक इन्द्रप्रसाद आचार्य, उपसचिव जीवनप्रसाद सेढार्इं, उपसचिव जगन्नाथ बराल, उपसचिव लक्ष्मीदत्त कलौनी, उपरजिस्ट्रार प्रल्हादकुमार योगी र सहायक प्रमुख जिल्ला अधिकारी सोलुखुम्बुका अनिल खनाल परेका छन् । पुरस्कृत हुनेहरुलाई अनुकूल समयमा पुरस्कार प्रदान गरिने छ ।

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । समितिको सिफारिसको आधारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कार पाउने कर्मचारीको निर्णय गरेको हो । बिहीबार ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शीता र चुस्तता’ भन्ने मूल नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ ।