शीर्षक- कागजको डुङ्गा
रसिक राज
***
धेरै पहिले एक मनसुन रातमा !
उ मलाई लेखेर निदाई सकेको थियो।
म निदाउन सकिन।
उसले सबै भन्दा पहिला मेरो छातीमा सपनाहरू लेख्यो-जुन सपना उसले कहिले देख्न प्रयास गरेन ।
उसेले मेरा आँखाहरुमा कुरुपता लेख्यो ,सुन्दरता लेख्यो
त्यसपछि मेरो मस्तिष्कमा जजमेन्ट लेख्यो।
मेरो हत्केलामा ३ फरक फरक रेखा बनायो-
१. कालो रेखा बनायो र भविष्य लेख्यो
२. लामो रेखा बनायो र वेदना लेख्यो ।
३. सानो र मसिनो रेखा कोरेर तल लेख्यो –
•आयु•
अन्त्यमा
उसले मेरो मुटुमा मुस्कान लेख्यो र निदायो
म रात भर आफ्ना छातीमा कुदीएका सपनाहरुलाई ओल्टाई पल्टाई हरेर सोचिरहे यी कुरुप हुन वा सुन्दर ??
अह ! बिहान सम्म पत्तो पाउन सकिन ।
बिहानमा आँखा मिच्दै उ फेरी आयो मेरो नजिकै
मलाई बडो प्रेमले पढ्यो
र कच्याककुचुक पारि फालिदोयो डस्विनमा।
मैले आफ्ना हत्केला खोलेर हेर आयु लेखेका रेखा लगभग हराईसकेथे।
अब म आफ्नो उत्पत्ति प्रति बेहद दुखी भए
र मुटुमा लेखिएको मुस्कान पढ्दै
चुपचाव सुईकारे डस्विनको जिन्दगी ।
एक बिदाको दिनमा
एउटा कोमल अनुहारले समायो मलाई
खोल्यो
सरररर समथर नहुदा सम्म साना हत्केलाले ईस्त्री गर्यो
दुई चार पटक पट्यायो खोल्यो पट्यायो
र एउटा नयाँ आँकार दियो।
हातमा मलाई राखी
खालि खुट्टै पातहरुको बस्ती छिचोल्दै
नदीको किनारमा पुग्यो
एक पटक मलाई हेर्यो
एक पटक बगिरहेको पानीमा हेर्यो
पुन अर्को पटक मलाई हेर्यो
बडो कलात्मक तवरले मुस्कुरायो र भन्यो –
•कागजको डुङगा•
© रसिक राज