कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम ? - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम ?



भदौ १९, काठमाडौं-

उत्तर कोरियाले आइतबार भूमिगत विष्फोट गराएको हाइड्रोजन बम निकै शक्तिशाली मानिएको छ।

कुनै कुनै अनुमानले त्यसको शक्ति एक सय किलोटन भएको उल्लेख गरेका छन्।

अर्थात अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको फ्याट बोय नामक अणु बम भन्दा यो पाँच गुणा शक्तिशाली हो।

नागासाकी विष्फोटले तत्काल ७० हजारको ज्यान गएको थियो।

तर अझ पनि मानव निर्मित सबभन्दा शक्तिशाली विष्फोटहरुको तुलना गर्ने हो भने चाहिं यो निकै सानो नै हो।

परमाणु दौड उत्कर्षमा पुगेको बेला सन् १९६१ मा सोभियत युनियनले बमहरुको राजा नाम दिएको बमको विष्फोट गराएको थियो।

उक्त हाइड्रोजन बमको शक्ति ५० हजार किलोटनको थियो।

प्रतिरोधको नीति

तर पनि उत्तर कोरियाको हालको शासन शैली अनि उसका छिमेकीहरुसंगको सम्बन्धका कारण उसको परीक्षणलाई अन्तर्राष्ट्रिय जगतले निकै गम्भीरताका साथ लिएको छ।

बीबीसीका विश्लेषक जनाथन मार्कस भन्छन् यसले कयौंले अपेक्षा गरेभन्दा तीव्र गतिमा सबै कित्तामा उत्तर कोरियाली परमाणु कार्यक्रमले प्रगति गरिरहेको छ भन्ने संदेश दिएको छ।

सैन्य चेतावनी, एक्ल्याउने प्रयास र प्रतिबन्ध जस्ता उत्तर कोरियामाथि दवाव दिने सबै उपाए प्योङ्याङलाई पछाडि धकेल्न विफल देखिएका छन्।

के यो भन्दा थप पनि गरिनसक्छ?

पक्कै पनि, तर कडा आर्थिक दवावले त्यहाँको सत्तालाई सम्भवत: निसहाय बनाइदिन र उसलाई वर्वादीतर्फ धकेल्न सक्छ जुन कुराको सामना गर्न चीन अनिच्छुक लाग्छ।

प्योङ्गयाङ्गको परमाणु कार्यक्रमलाई अब पछाडी फर्काउने भन्दा पनि परमाणु अस्त्रले सुसज्जित भइसकेको उत्तर कोरियासंग अब विश्व जगतले नियन्त्रण र प्रतिरोधको नीति प्रधान रुपमा अपनाउन सक्ने देखिन्छ। बिबिसी