देउवाको तीन भारत भ्रमण र उपलब्धि - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

देउवाको तीन भारत भ्रमण र उपलब्धि



कहिले देउवा आए, के के भयो ? 

काठमाडौं ।
पहिलो पटक प्रधानमन्त्री हुँदा देउवाले २०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सात दिने औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१ बुँदे संयुक्त समझदारीपत्र भएको थियो । त्यसअघि भएको महाकाली सन्धीको शीघ्र कार्यान्वयन र परियोजनामा निजि लगानीलाईसमेत आकर्षित गर्ने सहमति भएको थियो । देउवाकै अग्रसरतामा भएको सन्धी र दुवै देशबीच भएका आपसी पत्राचारको अक्षरस कार्यान्वयनमा दुवै पक्षले जोड दिएको थियो । देउवाले सन्धी कार्यान्वयनलाई यसपटक पनि जोड दिने तयारी गरेका छन् । सन्धीअनुसार पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई टुंग्याउन दुवै पक्षबीच विभिन्न चरणमा औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको छ । उक्त भ्रमणमा सप्तकोशी उच्च बाँध, सुनकोसी डाइभर्सन, कर्णाली बहुउद्देश्यीय परियोजना, बुढीगण्डकी परियोजनाबारे छलफल भएको थियो । ‘प्रधानमन्त्रीले महाकाली सन्धीको कार्यान्वयनका लागि पञ्चेश्वर बहुउद्देश्यीय प्राधिकरणको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ’ प्रधानमन्त्री देउवा निकटस्थ स्रोतले नयाँ पत्रिकासँग भन्यो । त्यसबेला प्रधानमन्त्री देउवा भातमा रहेकै बेला माओवादीले १ फागुनमा रोल्पा, रुकुम, सिन्धुली र गोर्खामा आक्रमण गरेर सशस्त्र युद्ध घोषणा गरेको थियो ।

दोस्रो,
दोस्रोपटक प्रधानमन्त्री हुँदा देउवा २०५८ चैत ७ देखि ११ सम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेइको निमन्त्रणामा भएको भ्रमणमा नेपाल र भारतबीच ३१ बुँदे संयुक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त भ्रमणमा माओवादीविद्धको लडाईँमा देउवाले भारतसँग सहयोगको प्रस्ताब गरेका थिए । त्यसबेला माओवादीलाई सरकारले आतंककारी घोषणा गरेको थियो भने नेपालमा संकटकालको अवस्था थियो । त्यसबेला भारतले सुपुर्दगी सन्धी तथा आपसी कानूनी सहायतासम्बन्धी सम्झौता गर्न प्रस्ताब गरेको थियो । त्यसबारे सरकारले भारतलाई सकारात्मक जबाफ दिएको थियो । भातले पूर्वपश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति त्यतिबेलै गरेको थियो । त्यो बेला सुदुरपश्चिममा इन्स्टीच्युट अफ टेक्नोलोजी निर्माण गर्न भारतले सहमति पनि जनाएको थियो जो हालसम्म निर्माण भएको छैन । त्यसबेला महाकाली सन्धीको कार्यान्वयनलाई दुवै सरकारले उच्च प्राथमिकतामा राखेको संयुक्त बक्तव्यमा उल्लेख थियो ।

तेस्रो,
एमाले र कांग्रेस प्रजातान्त्रिकबीच संयुक्त सरकार गठनपछि देउवाले प्रधानमन्त्रीका रुपमा २०६१ भदौ २३ देखि २७ सम्म भारतको औपचारिक भ्रमणमा गरेका थिए । भारतीय कांग्रेस नेता डा मनमोहन सिंहको निमन्त्रणामा भएको उक्त भ्रमणका बेला २५ बुँदे संयुक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसबेला देउवाले माओवादीविरुद्धको सरकारी लडाईमा सहयोगका लागि आग्रह गरेका थिए । भारतीय तत्कालीन प्रधानमन्त्री सिंहले सहयोगको बचन दिएका थिए । त्यसबेला भारतले प्रहरीसहित सुरक्षाफौजलाई मद्दत गर्ने बचन दिएको थियो ।

उक्त भ्रमणमा सुपुर्दगी स्न्धी, आपसी कानूनी सहायता सम्झौतालाई निस्कर्षमा पु¥याउने सहमति भएको थियो । हुलाकी राजमार्ग निर्माणबारे भारतले सकारात्मक जबाफ दिएको थियो भने चुरे क्षेत्र संरक्षणमा सहयोगका लागि नेपालको प्रस्ताब स्वीकार गर्दै भारतले विस्तृत प्रस्ताब मागेको थियो । उक्त भ्रमणमा सुदुरपश्चिममा दुई चरणमा इन्स्टीच्युट अफ टेक्नोलोजी स्थापना गर्ने निर्णय भयो । त्यसका लागि भारतबाट एउटा टीमले सुदुरपश्चिम भ्रमण गर्ने सहमतिसमेत भएको थियो ।

त्यही भ्रमणमा पञ्चेश्वर माथिल्लो कर्णाली परियोजना निर्माण, बुढीगण्डकीको विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि सम्बद्ध अधिकारीलाई निर्देशन दिने सहमति भएको थियो । सप्तकोशी उच्च बाँध, सुनकोसी स्टोरेज तथा डाइभर्ससन निर्माणका बिषयमा पनि छलफल भएको थियो । त्यसबेला भारतले नेपाललाई कार्गो ट्रान्जिट सहजीकरणका लागि मुम्बईको जवाहरलाल नेहरु बन्दगाह प्रयोग गर्न दिन सहमति जनाएको थियो । त्यही बेला रक्सौलदेखि अमलेखगञ्जसम्म भारतबाट पेट्रोलियम पाइप लाइन निर्माणसम्बन्धी निर्णय भएको थियो भने चाँडै नै दुईपक्षबीच बिपा सम्झौता गर्ने सहमति भएको थियो ।
आजको नयाँ पत्रिकामा यो खबर छ ।