ऊर्जामन्त्रीको निर्देशन: महसुलको बक्यौता असुल उपर गर । - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

ऊर्जामन्त्रीको निर्देशन: महसुलको बक्यौता असुल उपर गर ।



काठमाडौँ, ७ भदौ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महसुलको बक्यौता महसुल उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
लामो समयदेखि विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई ठूलो आर्थिक भार परेको भन्दै तत्काल बक्यौता असुल उपर गर्न र तिर्न अटेर गर्नेको लाइन काट्नसमेत निर्देशन दिए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उच्च पदस्थ कर्मचारीलाई आज ऊर्जा मन्त्रालयमा बोलाएर मन्त्री शाहीले महसुल नतिर्नेलाई छुट नदिन निर्देशन दिएका हुन्।
प्राधिकरणलाई आर्थिक भार कम गर्न र बक्यौता नतिर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको भन्दै उहाँले कुनै पनि बहानामा संस्थालाई घाटामा पार्ने काम कोही कसैबाट पनि गर्न नहुने बताउनुभयो ।
ऊर्जामन्त्री शाहीले निश्चित समयसीमा तोकेर सूचना जारी गर्न र तोकिएको समयसीमाभित्र बक्यौता रकम नबुझाउने, रकम बुझाउन आनाकानी गर्नेलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनसमेत कार्यकारी निर्देशक घिसिङलाई निर्देशन दिएका हुन्।
प्राधिकरणका अनुसार मुलुकभर करिब रु दुई अर्ब बराबरको बक्यौता छ। लामो समयदेखिको बक्यौता नतिर्नेमा सरकारी निकाय पनि अग्रपङ्क्तिमा छन्।
यस्तै, केही औद्योगिक तथा घरायसी ग्राहकले समेत महसुल तिरेका छैनन्। प्राधिकरणले महसुल नतिरेका केही ग्राहकलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ। तर कतिपय स्थानमा त्यसो गर्दासमेत महसुल उठ्न सकेको छैन।
प्राधिकरणले भने बक्यौता असुल उपर गर्ने कार्य नियमित प्रक्रिया नै भए पनि अटेर गरेर बसेका केही ग्राहकलाई थप समय दिएर उठाउने बताएको छ।
कार्यकारी निर्देशक घिसिङले महसुल उठाउने र चुहावट नियन्त्रण गर्ने कार्यलाई अभियान र निरन्तरताको कार्यका रुपमा अगाडि बढाउने जानकारी दिए। रासस