त्रासको अँगालो: विचारको चिहानमाथि अवसरवादको नाङ्गो नाच

नेपाली राजनीतिको बजारमा एउटा उखान निकै बिक्ने गर्छ- ‘राजनीति सम्भावनाको खेल हो।’ तर, आजभोलि पुराना दल र नेताले जे-जस्ता दृश्यहरू मञ्चन गरीरहेका छन्, त्यसले यो उखानलाई नराम्ररी गिज्याइरहेको छ। अब यो सम्भावनाको खेल रहेन, बरु यसले नयाँ परिभाषा पाएको छ- ‘राजनीति चरम अवसरवाद र निर्लज्जताको व्यापार हो।’
विशेषगरी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मञ्चन भइरहेको ‘कथित एकता’ को पछिल्लो प्रहसनले नेपाली राजनीतिको सबैभन्दा भद्दा अनुहारलाई छताछुल्ल पारेको छ।
प्रश्न उठ्छ, हिजो एकअर्काको राजनीतिक चिहान खन्न तम्सिएका यी दुई नेता आज अचानक एउटै मालामा कसरी उनिए? यसको जवाफ कुनै सिद्धान्त वा विचारको पुस्तकमा भेटिँदैन, बरु सिंहदरबारको सत्ता समीकरणले जन्माएको ‘त्रास’ मा भेटिन्छ।
ऐनामा देखिने प्रचण्डको बिचित्रको छाया
प्रचण्डको राजनीतिक चरित्र बुझ्न कुनै ठूलो ग्रन्थ पढ्न पर्दैन, उनका पछिल्ला कदमहरू नै काफी छन्। स्वार्थको रोटी सेक्न पर्दा उनी ‘गधालाई पनि बा’ भन्न हिचकिचाउँदैनन्, सेतोलाई रातारात हरियो प्रमाणित गरिदिन्छन्। तर, जब स्वार्थको भाँडो रित्तिन्छ, तब सुरु हुन्छ उनकै शब्दकोशका सबैभन्दा छुद्र गालीहरूको वर्षा।
इतिहास धेरै पुरानो छैन। तत्कालीन नेकपाको आन्तरिक कलह उत्कर्षमा पुग्दा प्रचण्डले ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक आरोपपत्र पेस गरेका थिए। त्यो केवल एउटा चिठी थिएन, ओलीलाई नैतिक र कानुनी रूपमै ‘अपराधी’, ‘भ्रष्ट’, ‘संविधानको हत्यारा’ र ‘कम्युनिष्ट आन्दोलनको कलंक’ साबित गर्ने दस्ताबेज थियो। संसद् विघटनपछि सडकको कालोपत्रेमा पलेँटी कसेर प्रचण्डले ओलीलाई ‘साधारण सदस्यसमेत नरहने गरी’ पार्टीबाट निस्कासन गरेका थिए।
भर्खरै ‘जेन-जी’ (Gen-Z) आन्दोलनको रापताप चलिरहँदा पनि प्रचण्डले विभिन्न मञ्चहरूबाट ओलीलाई ‘अपराधी’ करार गर्दै दण्डको भागीदार हुनुपर्ने आशय व्यक्त गरेका थिए। तर आज? आज तिनै प्रचण्ड तिनै ‘अपराधी’ को काँधमा चढेर ‘कम्युनिष्ट एकता’ को बाँसुरी बजाइरहेका छन्। यो वैचारिक मिलन होइन, वैचारिक स्खलनको चरमोत्कर्ष हो।
यो कम्युनिष्ट एकताको नयाँ आवरण, जनजीविका र समाजवादको स्थापनाका लागि होइन; बरु अख्तियार र प्रहरीको चिसो खोरबाट बच्न रातारात तयार गरिएको एउटा ‘सुरक्षा कवच’ मात्र हो।
बालेन फ्याक्टर: फाइल खुल्ने त्रास र अस्तित्वको संकट
अहिलेको राजनीतिको मुख्य उत्प्रेरक ‘जेन-जी’ आन्दोलनको जगमा उभिएको बालेन शाह नेतृत्वको सरकार हो। वर्षौंदेखि राज्यसत्ता दोहन गरेर अकुत सम्पत्ति कमाएका, नीतिगत भ्रष्टाचारलाई संस्थागत गरेका र दण्डहीनतालाई प्रश्रय दिएका पुराना दलहरू अहिले चरम अस्तित्वको संकटमा छन्।
बालेन सरकारले पुराना सरकारले गरेका अपराधका धुलो जमेका फाइलहरू धमाधम खोल्न थालेपछि, प्रचण्ड र ओली दुवैलाई एउटै डुंगामा ल्याएर राखिदिएको छ। उनीहरूलाई तर्साइरहेका मुख्य भूतहरू यस्ता छन्:
क्यान्टनमेन्ट घोटाला: लडाकुको नाममा राज्यको अर्बौं रकम हिनामिना भएको यो फाइल प्रचण्डको सबैभन्दा ठूलो ‘दुख्ने नसा’ हो।
नक्कली भुटानी शरणार्थी र सुन काण्ड: यी प्रकरणमा पुराना दलका शीर्ष नेताहरूकै संलग्नताका प्रमाणहरू बाहिरिँदा एमाले, कांग्रेस र माओवादी तीनै दलका उच्च पदस्थहरूको निद्रा हराम भएको छ।
गिरीबन्धु टी-स्टेट र ललिता निवास: नीतिगत भ्रष्टाचारका यी ज्वलन्त उदाहरणहरूमा ओली र प्रचण्ड दुवैको प्रत्यक्ष वा परोक्ष मौन समर्थन रहिआएको छ।
जब अनुसन्धानको सुई शीर्ष नेतृत्वतर्फ सोझिन थाल्यो, तब ‘गणतन्त्र र संविधान धरापमा परेको’ नक्कली भाष्य खडा गरियो। आफ्ना अपराधको पर्दाफास हुने डरले नै यी दुई नेताहरू फेरि एक ठाउँमा उभिन बाध्य भएका हुन्।
डुब्न लागेको जहाजको अँगालो
कुनै समय नेपालको राजनीतिलाई आफ्नै इसारामा नचाउने प्रचण्ड आज इतिहासकै सबैभन्दा निरीह अवस्थामा छन्। कहिले कांग्रेसको काँध त कहिले एमालेको काँध चढेर सत्ताको वैतरणी तर्दै आएका उनीसँग अब आफ्नै खुट्टामा उभिने राजनीतिक पुँजी र नैतिक धरातल दुवै बाँकी छैन।
बालेन शाहको सरकारले जनसमर्थनका साथ जब ‘एक्सन’ लिन थाल्यो, सडकमा उत्रिएर आन्दोलन गर्ने आँट पुराना दलहरूसँग छैन। जनताले उनीहरूको ‘टेस्टेड’ र ‘फेल्ड’ अनुहारलाई रद्दीटोकरीमा फालिसकेका छन्। त्यसैले, अहिले ओलीलाई काँधमा बोकेर प्रचण्डले गर्न लागेको पार्टी एकता कुनै महान् क्रान्तिको तयारी होइन, बरु डुब्न लागेको जहाजमा ज्यान जोगाउन दुई दुश्मनले एक-अर्कालाई मारेको हतास अँगालो मात्र हो।
हिजो जसलाई जेल हाल्ने कसम खाइएको थियो, आज उसैसँग घाँटी जोड्न पुग्नुले नेपाली जनतालाई एउटा स्पष्ट सन्देश दिएको छ- यी पुराना दलहरूका लागि विचार, सिद्धान्त र जनता भनेका केवल सत्ता प्राप्त गर्ने र आफ्ना अपराध लुकाउने भर्याङ मात्र हुन्।
तर, समय फेरिएको छ। बालेन शाह नेतृत्वको वर्तमान सरकार र नयाँ पुस्ताको चेतनाले यो भ्रष्ट सिन्डिकेटको जग हल्लाईसकेको छ। प्रचण्ड र ओलीको यो हतास मिलनले उनीहरूको राजनीतिक आयुलाई भेन्टिलेटरमा राखेर केही दिन तन्काउला, तर नयाँ पुस्ताले सुरु गरेको राजनीतिक सफाइ अभियानको हुरीलाई अब कुनै पनि ‘कथित एकता’ को पर्खालले रोक्न सक्ने छैन।

