एनआरएनए क्यानडाको आफ्नै भवन बनाउने अध्यक्ष सापकोटाको घोषणा

एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटाले अब आफ्नै भवनबाट कार्यालय संचालन हुने बताएका छन् । कार्यालय भनेको स्थायी ठेगाना भएकाले अब क्यानडा एनआरएनएले सामूहिक पहलमा आफ्नै भवन बनाउने उनले बताए ।
अध्यक्ष सापकोटाले एक ऐतिहासिक योजना सार्वजनिक गर्दै यो योजना केवल भवन किन्ने नभएर, नेपाली–क्यानडियन समुदायको दीर्घकालीन भविष्य निर्माण गर्ने रणनीतिक पहलका रूपमा व्याख्या गरेका छन् ।
एनआरएनए क्यानडाले भाडाका हल, रेस्टुरेन्ट, सामुदायिक भवन वा तेस्रो–पक्षको स्थानमा कार्यक्रम गर्दै आएको तर अब त्यस्तो नहुने उनले बताए । हिमालपोष्टसँग कुरा गर्दै सापकोटाले नेपाली समुदायका लागि एक स्थायी घर, जहाँ सेवा, भेटघाट, प्रशिक्षण, सांस्कृतिक कार्यक्रम र समुदायलाई आवश्यक सबै गतिविधि एउटै छानामुनि सम्पन्न गर्न सकियोस् भन्ने उद्दश्यले आफ्नै भवन खरिद गर्ने योजना अघि बढाईएको बताए ।
अध्यक्ष सापकोटाले राष्ट्रिय कार्यसमिति, प्रान्तीय प्रतिनिधि, च्याप्टर प्रमुख तथा सम्पूर्ण सदस्यलाई अपील गर्दै आफ्नै भवन हुँदा संस्थाको विश्वसनीयता, पहिचान, सेवा र प्रभावकारिता अझ मजबुत हुने बताए । “जब संस्थासँग आफ्नै संरचना हुन्छ, तब संगठन बलियो हुन्छ, यो हाम्रो आफ्नै घर हो, हामी आफै मिलेर बनाउने हो” उनले भने । सबैले मिलेर बनाउने उक्त घरमा प्रत्येक सदस्यको हात, साथ र भावना जोडिनुपर्ने उनको तर्क छ ।

