राष्ट्रपति बन्ने कुरा हल्ला मात्रै, एमालेसँग एकता हुँदैन- माधव नेपाल - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

राष्ट्रपति बन्ने कुरा हल्ला मात्रै, एमालेसँग एकता हुँदैन- माधव नेपाल



नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताबारे कुनै कुरा नभएको बताएका छन्। पार्टीको जनवर्गीय संगठनलाई जुम बैठकमा बिहीबार सम्बोधनका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

एमालेले समाजवादीलाई पार्टीमा समाहित गरेर आफूलाई राष्ट्रपति बनाउने कुरा केवल भ्रम मात्रै भएको अध्यक्ष नेपालको भनाइ थियो। जनवर्गीय संगठनका सदस्यहरुले पछिल्लो घटनाक्रमबारे अनेक प्रश्न उठाएपछि अध्यक्ष नेपालले आफ्नो बचाउ गर्दै जवाफ दिएका हुन्।

उनले जुम बैठकमा एमालेसँग एकताका लागि उपाध्यक्ष विष्णु पौडेलसँग कुनै कुरा नै नभएको बताएका छन्। ‘अहिले बजारमा बाहिर विष्णु पौडेलसँग मेरो भेटघाट भएको सूचना आएको रहेछ’, उनले भने, ‘त्यो सबै गलत हो। उहाँसँग राष्ट्रपतिको कार्यालयमा देखाभेट भएको हो। अलग्गै दुईजना बसेर कतै पनि कुनै कुरा भएको छैन।’

उनले पार्टी एकताका लागि भन्दै एमालेका केही नेताहरु आफ्नो निवासमा आएको खुलाए। बुधबार मात्रै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत एकता गरौँ भन्दै आफूकहाँ आएको पनि उनले बताए।

‘विभिन्न ठाउँबाट एमालेका मान्छेहरु आएका छन्। तर संस्थागत रुपमा निर्णायक कुरा भएको छैन’, उनले भने, ‘राष्ट्रपतिले पनि मिलेर जाने सन्देश दिनु भएको बुझेको छु। तर एकाताका लागि एमालेसँग संस्थागत रुपमा कुनै कुरा भएको छैन।’

अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने विषयमा अहिले नै निर्णय गरिनसकेको बताएका छन्। ‘हामी सरकारले ल्याउने कार्यक्रमका आधारमा समर्थन गर्न सक्छौँ’, उनले भने, ‘पहिले सरकारले कार्यक्रममा बनाएपछि मात्रै समर्थन या विरोध गर्ने निर्णय लिन्छौँ।’

अहिले सरकारलाई समर्थन गर्छौँ र गर्दैनौँ केही नभन्ने उनले बताए। अध्यक्ष नेपालले विभिन्न कारणले गठबन्धन टुटे पनि आत्तिने अवस्था नरहेको बताए।

‘दुखका साथ भन्नुपर्छ गठबन्धन अघि बढेन। विभिन्न कारणले टुट्यो। यसमा कांग्रेससँगै माओवादी पनि दोषी छ’, उनले भने, ‘गत आइतवार बालुवाटारमा वार्ता नमिलेपछि प्रचण्डजीले बालकोट जाने कुरा गर्नु भएको थियो। तर उहाँ एक्लै जानु भएछ। जाने सल्लाह भएर पनि उहाँ एक्लै बालकोट पुगेर धोका दिनुभयो।’

उनले अहिले एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनबारे हतार गरेर नेगेटिभ र पोजेटिभ हुनुपर्ने बाध्यता नरहेको बताए।

‘एमालेसँग एकता गरेर मैले राष्ट्रपति पद लिने कुरा हल्ला मात्रै हो। त्यसबारेमा कहीँ कतै कुरा भएको छैन’, उनले भने, ‘ अहिले त्यस कुरामा पार्टीमा पनि कुनै सल्लाह भएको छैन। हुँदै नभएको कुरालाई हल्लाको विषय बनाइएको छ।’

उनले हिजो असाध्य थोरै मान्छे हुँदा पनि हाँकेर देशको मूल शक्ति बनाएको पार्टीका नेता कार्यकर्ताले अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको पनि बताएका छन्।

अध्यक्ष नेपालले तत्कालै एमाले, माओवादी र जनता समाजवादीसँग एकता आफूहरुको प्राथमकितामा नरहेको पनि बताएका छन्।