प्रचण्डलाई १६६ सांसदको समर्थन- रवी गृहमन्त्री, राष्ट्रपति एमालेलाई - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

प्रचण्डलाई १६६ सांसदको समर्थन- रवी गृहमन्त्री, राष्ट्रपति एमालेलाई



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोलेर नेताहरू शीतल निवास पुगेका छन् । एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेपछि नाम शितलनिवास पठाईएको हो।

बालकोटमा भएको बैठकपछि नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको हो । यससँगै अन्य दलबीच पनि भागबण्डा गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेलाई उपप्रधानमन्त्री वा गृहमन्त्री बनाउने मोटामोटी सहमति भएको समेत स्रोतले जनाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आकर्षक मन्त्रालय दिने सहमति बनेको बताइएको छ ।

त्यस्तै राष्ट्रपतिमा एमालेले दाबी गर्नेछ भने, अन्य दलको टुंगो लगाउन बाँकी रहेको स्रोतको दाबी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । एमालेका एक नेताका अनुसार आलोपालो प्रधानमन्त्रीको सहमति भएको बताए । अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्ने उनले बताए ।

सत्ता गठबन्धन छोडेर गएका प्रचण्डलाई झन् ठूलो समर्थन मिलेको छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।