बालकोटम प्रचण्डको बहुमत
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहमुत दाबी गर्ने समय अब केही घण्टा बाँकी रहँदा राजनीतिको इपि सेन्टर बालकोट भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार बिहानैदेखि राजनीतिक चहलपहल बाक्लो थियो। बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका नेताहरुको बैठकमा कुरो मिलेन।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नमिल्ने अडान लिइरहँदा प्रचण्ड भने गठबन्धन भत्किएको निष्कर्षमा पुग्दै थिए।
आफू पहिलो कार्यकाल प्रधानमन्त्री बन्न नपाउने भएपछि बालुवाटारबाट निस्किने मुड प्रचण्डले बनाइरहँदा बालकोटमा ओलीले साना दलसँग छलफल थालिसकेका थिए।
प्रचण्डले बालुवाटारमा सत्ता गठबन्धन भत्किएको घोषणा गर्दै गर्दा ओलीसँगको वार्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई बालकोट पुग्दै थिए।
ओलीले नयाँ सत्ता निर्माणका लागि बहुमत जुटाउने वार्ता गर्दै गर्दा प्रचण्ड गठबन्धन भत्किएको घोषणासहित बालुवाटारबाट निस्किए।
बालुवाटारबाट केही बेर खुमलटार पुगेका उनी त्यहाँबाट बालकोट पुगे। जहाँ राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति लामिछानेसँग संवाद हुँदैथियो।
ओलीले रवि र राजेन्द्रसँग वार्ता गर्दै गर्दा माओवादीको टोली पनि त्यहाँ पुग्यो। उक्त टोलीमा प्रचण्ड, महासचिव देव गुरुङ, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन पनि थिए।
त्यहाँ यी चार दलबीच नयाँ सत्ता समीकरणका लागि वार्ता भइरहेको छ। यी चार दल मिलेर नयाँ सरकार बनाउनेबारेमा सहमति गर्ने तयारी छ।
यस्तोमा प्रुचण्डलाई राष्ट्रपतिको कार्यालयले आजै प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछ। यसबीचमा राप्रपाले आजै आकष्मिक बैठक डाकेको छ। उता रास्वापले सभापति लामिछानेलाई नै सरकारबारे निर्णयको अधिकार दिइसकेको छ। जसपा पनि एमालेसँगको गठबन्धनमा रहेकाले सरकारमा जाने सम्भावना छ।