रामचन्द्रको अन्तिम इच्छा 'राष्ट्रपति'- कांग्रेसले फेरि बनाउन सक्छ बिजोग - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

रामचन्द्रको अन्तिम इच्छा ‘राष्ट्रपति’- कांग्रेसले फेरि बनाउन सक्छ बिजोग



काठमाडौं- अथक प्रयास गर्दापनि प्रधानमन्त्री बन्ने चाहना पुरा नभएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति बन्ने अन्तिम इच्छा प्रकट गरेका छन् ।

आफ्नै पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनायो र १७ पटक हराएको नमिठो अनुभव चाखेका उनले आशा भने मारेका छैनन् । पार्टीबाटै दुखद अवस्थाको सामना गरेका पौडेलले गरेका हरेक प्रयास सफल हुन पाएनन् । पार्टीभित्र सभापति देउवाविरुद्ध गुट चलाए पनि बलियो बनाउन सकेनन् ।

पार्टीको १४औं महाधिवेशनमा सभापति निर्वाचित हुने र प्रधानमन्त्री बन्ने चाहना पहि तुहियो । अन्त्यमा प्रतिस्पर्धी शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपति बन्ने अतृप्त सपना लिएर बसेका छन्। उमेर र राजनीतिक जीवनको उत्तरार्द्धमा पनि रामचन्द्रको चाहना भने मरेको छैन ।

आशा लाग्दो परिणाम नआएपनि परिस्थितिले कांग्रेसलाई पहिलो पार्टी पनि बनायो । त्यसपछि रामचन्द्रले प्रधानमन्त्रीको बार्गेनिङ गर्दै राष्ट्रपति बन्ने खुट्किलो बनाए । प्रधानमन्त्री चयनपछि राष्ट्रपतिसहित थुप्रै पदहरू दलहरूबीच लेनदेन हुँदैछ । रामचन्द्र राष्ट्रपति बन्ने वा नबन्ने पनि लेनदेनकै हिसाबकिताबमा निर्भर छ ।

सिधा हिसाबमा वर्तमान सत्ता गठबन्धनबीच लेनदेन हुँदा माओवादीले प्रधानमन्त्री पाए मात्र कांग्रेसले राष्ट्रपति पाउँछ । त्यस्तो अवस्थामा पनि सभापति देउवा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न तयार भए मात्र रामचन्द्र राष्ट्रपति हुन सक्छन् । त्यसमा पनि देउवाले ‘होइन म राष्ट्रपति भएर बिदा हुन्छु’ भनेको खण्डमा रामचन्द्र फेरि हस्रक्कै पर्नेछन् ।

त्यसो त आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति हुनु, पहिलो कार्यकालका लागि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनु हो भने देउवा राष्ट्रपति बनिसकेको अवस्थामा रामचन्द्र दोस्रो कार्यकालको प्रधानमन्त्री बन्ने सम्भावना पनि रहन्छ ।

देउवा–प्रचण्ड दुवैले प्रधानमन्त्री दाबी गरेका छन् । त्यसै कारण गठबन्धनमा कुरा मिलेको छैन । रामचन्द्र शनिवार दिनभर देउवा–प्रचण्डलाई मनाउन लागिपरे । तर, सकेनन् । देउवा र प्रचण्डलाई मनाउन नसके पनि प्रचण्डबाट थप आशा भने पाए ।

प्रचण्डकहाँ ‘देउवालाई प्रधानमन्त्री छोडिदिनुस्’ भन्न पुगेका रामचन्द्रलाई प्रचण्डले उल्टै आशा भिराएर पठाए । ‘त्यसरी कहाँ हुन्छ– तपाईं राष्ट्रपति हुने हो म प्रधानमन्त्री ।’

प्रचण्डले भने जसरी नै प्रचण्ड प्रधानमन्त्री हुने अवस्थामा रामचन्द्र राष्ट्रपति हुने सम्भावना रहन्छ । तर, गठबन्धनमा कसरी कुरा मिल्छ भन्ने महत्वपूर्ण हुन्छ ।

कांग्रेसमा रामचन्द्र कमजोर नै भए पनि इमानजमान गुमाएका वा अरु जस्तो अरुबाट कुरा काटिने राजनीतिज्ञ होइनन् । चाहेजस्तो सफलता नपाए पनि निरन्तर लागिपर्ने इमानजमान भएका नेतै मानिन्छन् ।

रामचन्द्र उमेर र अनुभवका दृष्टिमा पनि पाका हुन् । सम्भवतः आगामी निर्वाचनमा उउम्मेदवार पनि बन्दैनन् । भोट माग्दै पनि ‘यो अन्तिम पटक हो’ भनिसकेका छन् । त्यसैले यसपटक जसरी पनि राष्ट्रपति बन्ने उनको चाहना हो ।

रामचन्द्रले आफूलाई प्रधानमन्त्रीको रूपमा देख्न छोडिसके । किनकी, उनले प्रधानमन्त्री बन्न आन्तरिक शक्ति गुमाइसकेका छन् । यस्तो अवस्थामा आफ्नै बुतामा प्रधानमन्त्री सम्भव हुँदैन । त्यसैले, एकपटक राज्यलाई अभिभावकत्व प्रदान गरेर राजनीतिबाट बिदा हुने रामचन्द्रको अन्तिम चाहना हो ।