प्रचण्डको जवाफ कुर्दै देउवा- 'प्लान बी' सहित पाँच विकल्प तयार - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

प्रचण्डको जवाफ कुर्दै देउवा- ‘प्लान बी’ सहित पाँच विकल्प तयार



काठमाडौं- राष्ट्रपतिले सरकार बनाउन आह्वान गरेको समय घर्किनै लाग्दा दलहरू सरकार बनाउने घम्साघम्सीमा लागेका छन् । सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तिक्तता देखिएकै बेला कांग्रेस सभापति शेरबहादुर देउवाले भने तत्कालका लागि “प्लान बी” सहित चार विकल्प तयार पारेका छन् ।

कसको नेतृत्वमा पहिले सरकार बनाउने भन्ने विषयमा विवाद देखिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई अल्टिमेटम दिइसकेका छन् । एमालेसँग मिलेर सरकार बनाउने भन्दै प्रचण्डले एक दिनको अल्टिमेटम दिएका थिए ।

तर प्रचण्डको अल्टिमेटमपछि देउवाले भए सबै विकल्प तयार पारेर बसेको बालुवाटार स्रोतले बतायो । प्रचण्ड सत्ता गठबन्धन छोड्न तयार बनेपछि देउवाले एमालेसँग मिलेर सरकार बनाउने लगायतका सबै विकल्प तयार पारेको बालुवाटार स्रोतको दाबी छ ।

बालुवाटार स्रोतका अनुसार देउवासँगको भेटमा अन्य विषयसँगै हरेकजसो समय प्रचण्डले आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउन आगह्र गरिरहेका छन् । देउवालाई प्रचण्डले सर्त मात्र राखेका छैनन्, आफ्ना उपमहासचिव वर्षमान पुनलाई पठाएर एमालेसँग मिलेर सरकार बनाउने धम्कीसमेत दिइसकेका छन् ।

३२ सिट रहेको माओवादी केन्द्रले आफूलाई पहिलोपटक प्रधानमन्त्री अनिवार्य भन्दै सर्त राखेको छ । दैनिक जसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट र कुराकानी जारी रहेपनि निष्कर्षमा भने नेताहरू पुग्न सकेका छैनन् ।

तर, देउवाले भने आफूले पार्टीभित्रको शक्ति व्यवस्थापनका लागि पनि राष्ट्रपति र पहिलो चरणको प्रधानमन्त्री कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन् । देउवाको तर्कलाई इन्कार गर्न नसक्दा दाहाल आफ्नो माग छोड्न पनि नसक्ने र देउवाको अडान पनि काट्न नसक्ने अवस्थामा गुज्रिरहेका छन् ।

बिहीबार बिहान भने प्रचण्डले आफ्ना उपमहासचिव वर्षमान पुनलाई बालुवाटार पठाएका हुन् । पुनले देउवासँगको भेटमा आफ्नो पार्टीलाई एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आइसकेकाले कांग्रेसले नदिने हो भने एमालेसँगै मिलेर सरकार बन्न सक्ने स्पष्ट संकेत गरेका छन् । उनले माओवादी केन्द्र अझै पनि गठबन्धनकै तर्फबाट पहिलो प्रधानमन्त्रीको दावी रहेको भन्दै कांग्रेस त्यसमा सहमत नभएर गठबन्धनमा माओवादी केन्द्र नरहने बताएका छन् ।

 वर्षमानले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री बानाउन नसके माओवादी केन्द्रले गठबन्धन छोड्ने संदेश सुनाएर फर्किएका थिए । देउवाले भने प्रचण्डबाटै गठबन्धन छाड्ने कुरा आओस भनेर कुरिरहेका छन् ।

स्रोतका अनुसार प्रचण्डले सत्ता गठबन्धन छोडेमा बालुवाटार ‘प्लान बी’ तयार पारेर बसेको छ । देउवाले सरकार निर्माणमा तत्काल गठबन्धनलाई पहिलो विकल्पकै रूपमा लिएको तर प्रचण्डले धोका दिएको खण्डमा  तत्काल अर्को विकल्पमा जाने तयारी गरेर बसेको कांग्रेसका एक नेताले बताए।

प्रचण्डले भने शेरबहादुर र आफूबीच पहिला प्रधानमन्त्री को बन्ने भनेर छलफल भइरहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ पछि उनले यस्तो जानकारी दिएका थिए

प्रचण्डले वर्षमान पठाएर गठबन्धने छोड्ने संकेत गरेपछि शेरबहादुरले प्रकाशमान सिंहलाई प्रचण्डसँग भेट्न पठाएका थिए । गठबन्धन छोड्न लागेको हो वा होइन भनेर कुरा गर्न प्रकाशमान सिंहलाई पठाएका थिए ।

बालुवाटार स्रोतका अनुसार देउवासँग सरकार निर्माणका लागि पाँच विकल्प छन् । प्रचण्ड बाहिरिए अरु चार विकल्प बाँकी रहन्छन् । त्योमध्ये कांग्रेस–एमालेको सरकार बन्ने एउटा विकल्प हो ।