सपथ लिएकै दिन विवादित बने सीके राउत- मदेशमा पुत्ला जलाइयो - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

सपथ लिएकै दिन विवादित बने सीके राउत- मदेशमा पुत्ला जलाइयो



जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध मदेशमै प्रदर्शन भएको छ । सप्तरीको राजविराजमा राउतविरुद्ध प्रदर्शन भएको हो ।

अध्यक्ष राउतले प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार लिएको शपथ बदर हुनुपर्ने माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् ।

बिहीबार संसद् भवनमा राउतले मधेसी भाषा भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्व अध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताए ।

राउतको व्यवहारबाट समग्र मैथिली भाषीको भावनामा ठेस पुगेको उनको भनाइ छ । संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ ।

मैथिली भाषी क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेका राउतलाई नेपालको कुनै अधिकारिक दास्तवेजमा उल्लेख नरहेको मधेसी भाषाको नाम दिएर शपथ लिनु असंवैधानिक भएको मिलाफका सचिव विद्यानन्द वेदर्दीले बताए ।

राउतले मधेसी भाषा भनेर संसद् सचिवालयमा दर्ता गराएको निवेदन नै संविधानविरीत भएको उनीहरूको दाबी छ । राउत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनकै क्षेत्रमा उनीविरुद्ध प्रदर्शन भएको हो ।