समानुपातिक सांसद चयनबारे राप्रपामा पनि विवाद, कार्यालय तोडफोड - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

समानुपातिक सांसद चयनबारे राप्रपामा पनि विवाद, कार्यालय तोडफोड



पोखरा । समानुपातिक सांसद चयनबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद देखिएको छ । पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ भने प्रदेश अध्यक्ष पञ्चराम गुरुङको तस्बिरलाई तोडफोड गरी भुइँमा फ्याँकिएको छ ।

राप्रपाले समानुपातिक सांसदको सूची शनिबार अबेरमात्रै तय गरेको थियो । प्रतिनिधिसभा र अन्य ६ प्रदेशमा समानुपातिक सांसद बन्नेहरूको नाम टुंगिसक्दा पनि गण्डकी प्रदेशसभामा कसलाई पठाउने भन्ने विषयलाई लिएर उपाध्यक्ष र महामन्त्रीका बिचमा चर्काचर्की नै पर्‍यो ।

अघिल्लो निर्वाचनको तुलनामा राप्रपाले यसपटक चार गुणा मत बढाएर प्रदेश समानुपातिकमा झन्डै ६० हजार मत पाएको छ । यो मतबाट राप्रपाले गण्डकीमा दुई सांसद पाएको छ ।

एउटामात्रै सांसद पाएको खण्डमा महिला र गण्डकीमा चाहिँ जनजाती क्लस्टर अगाडि भएकाले नवलपुरबाट सुशिलादेवी सापकोटा (थापा) सांसद बन्ने सम्भावना थियो । तर, गण्डकीमा राप्रपाले दुई सिट पाउँदा प्रदेश अध्यक्ष पञ्चराम गुरुङको ‘इन्ट्री’ भयो । जसले गर्दा सुशिलादेवी पनि बाहिइरिन् । उनको ठाउँमा विन्दु पहाडी भित्रिइन् । खस आर्यबाट महिलालाई राख्दा खस आर्यकै पुरुषतर्फको एक नम्बरमा रहेका गोविन्दराज खनिया पनि बाहिरिए ।

राप्रपामा विवाद हुनुको मुख्य कारण नै यही हो । एउटामात्र सिट पाउँदा जनजाती महिलातर्फबाट सांसद बन्ने भएपनि दुईवटा सिट पाउँदा चलखेल भयो ।

राप्रपाका महामन्त्री धवलशमशेर राणा समानुपातिकको बन्दसूची अनुसार नै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । बन्दसूची अनुसार आदिवासी जनजातीकातर्फबाट महिला आउँदा खस आर्यबाट पुरुष सांसद बन्नुपर्ने थियो । तर, आदिवासी जनजातीबाट पुरुष सांसद र खसआर्यबाट महिलालाई अगाडि बढाउन खोजेपछि राणा र राप्रपाका मनोनित उपाध्यक्ष हेमजंग गुरुङबिच चर्काचर्की नै हुन पुगेको थियो ।

समानुपातिकबाट सांसद छान्न नवलपुर र कास्कीबाट राप्रपाको टोली डेलिगेसनसमेत गएको थियो । राप्रपाले पाएको झन्डै ६० हजार मतमध्ये कास्कीबाट १७ र नवलपुरबाट १८ हजार मत पाएको थियो ।

सांसद चयन गर्दा यी दुई जिल्लाबाट गर्नुपर्ने भन्दा दबाब दिन यी जिल्लाबाट डेलिगेसन गएतापनि राप्रपा उपाध्यक्ष हेमजंग गुरुङको अडानका कारण उनका भान्जा पञ्चराम गुरुङ सांसद बनेको आरोप लागेको छ । उपाध्यक्ष मनोनीत हुनुअगाडि हेमजंग गण्डकीका अध्यक्ष थिए । उनले नै आफ्ना भान्जा पञ्चरामलाई अध्यक्षको पत्र थमाएको राप्रपाका कार्यकर्ताहरूको आरोप छ । पञ्चराम गुरुङ स्याङ्जाका हुन् । आफ्ना भान्जाका लागि अडान लिएका हेमजंग र महामन्त्री राणाबीच यही विषयमा विवाद भएको थियो ।

त्यसअगाडि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वयमले गण्डकीका ११ जिल्लाकै राप्रपाका अध्यक्षहरूलाई टेलिफोन गरि सांसदमा कसलाई अगाडि भनेर सुझाव पनि लिएका थिए । ११ जिल्लामध्ये ८ जिल्लाका अध्यक्षहरूले खसआर्यबाट गोविन्दराज र आदिवासी जनजाती महिलाबाट सुशिलादेवी थापालाई नै बन्दसूचीको क्रमअनुसार अगाडि बढाउन सुझाव दिएका थिए ।

“उक्त सुझावको पनि बेवास्ता गरियो । विधि र पद्धतिलाई मानिएन,” एक सदस्यले भने ।

उनले उपाध्यक्ष हेमजंगले विधानविपरीत सचिवालय पनि चलाइरहेको आरोप लगाए ।

“महामन्त्रीहरूमध्येबाट नै एकजनाले हो सचिवालय हेर्ने, तर विधान नै मिचेर सचिवालयमा पनि उपाध्यक्ष हाबी हुनुभएको छ । अन्यत्र कहीँ विवाद नभएतापनि गण्डकीमा आफ्ना नातेदारलाई ल्याउन उहाँले अड्डी कस्नुभयो, यसले राप्रपाका अन्य इमानदार कार्यकर्ताहरूमा नकारात्मक सन्देश गएको छ ।”

यता, कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका छन् ।

कास्कीका नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित पाँचजना बन्द सूचीमा थिए ।

“सबैभन्दा बढी मत ल्याउने जिल्लालाई छाडेर अन्यत्रका व्यक्तिलाई सांसद बनाएको भनेर विरोध भएको हो,” राप्रपा कास्की प्रवक्ता अरूण गिरीले भने ।