चित्रबहादुर केसीकै लाइनमा विप्लव, संघीयता खारेज गर्न माग - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

चित्रबहादुर केसीकै लाइनमा विप्लव, संघीयता खारेज गर्न माग



नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य सकिएको बताएका छन्।

गृहजिल्ला कपिलवस्तुमै आयोजित एक साक्षात्कार कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा विप्लवले संघीयताबारे तिखो टिप्पणी गरेका हुन्।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको साक्षात्कार कार्यक्रममा बोल्ने क्रममा उनले अब नेपालमा अहिले अभ्यास भइरहेको संघीयताभन्दा जनताको समानुपातिक संघीयताको खाँचो रहेको औँल्याए।

‘मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको परिणामले अहिलेका दलहरूको औचित्य पनि सकिएको पुष्टि गरेको छ’, उनले भने, ‘अझ बढ्दो आर्थिक संकटले मुलुक कमजोर अवस्थामा पुगिसकेको छ।’

महासचिव विप्लवले अब संघीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याए। उनले अब विशेष आर्थिक कार्यक्रम नल्याउने हो भने देश श्रीलंकाभन्दा ठूलो संकटमा जाकिने पनि उल्लेख गरे।

उनले मंसिर ४ को निर्वाचनको औचित्य नभएको पनि टिप्पणी गरे। ‘ मंसिर ४ को निर्वाचनले जनतामा खुसी दिएन’, उनले भने, ‘अब अहिलेको अभ्यासको संघीयता र निर्वाचन प्रणालीको पनि औचित्य सकिएको छ।’

महासचिव विप्लवले आफूहरुसँग तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको तीन बुँदे सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै रोष प्रकट गरेका छन्।

विप्लवसहितका साना कम्युनिष्ट पार्टीले मंसिर ४ को निर्वाचन बहिष्कार गरेका थिए। उनीहरुले यो संसदीय व्यवस्थाको निर्वाचनले देशलाई झन् लुट्ने भन्दै निर्वाचनमा भाग लिएका थिएनन्।