गगन थापाको पक्षमा खुले अर्जुन नरसिंह केसी - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

गगन थापाको पक्षमा खुले अर्जुन नरसिंह केसी



नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले सहमतिमै संसदीय दलको नेतृत्व चयन गर्नुपर्ने बताएका छन्। उनी कांग्रेस महामन्त्री गगन थापाको पक्षमा खुलेका छन् ।

कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री थापाले प्रतिस्पर्धा तयारी गरिररहेका बेला केसीले सहमतिकै नेतृत्वमा जोड दिएका हुन्। नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित केसी थापाका पक्षमा खुलेका हुन्।

कांग्रेसको १३ औँ महाधिवेशनमा केसी र थापा महामन्त्रीमा प्रतिस्पर्धासमेत गरेका थिए। तर, दुवैजना पराजित भए। उनले कांग्रेसको अहिलेको स्थिति हेर्दा सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताउँछन् । पार्टी कमजोर नहुने र जनताप्रति उत्तरदायी हुनसक्ने हो भने सहमति गर्नुपर्ने उनको तर्क छ ।

कांग्रेस रुपान्तरण हुनुपर्ने तर्क गर्दै केसीले आफू सहमतिको पक्षमा उभिने यदि त्यसो हुन नसके आफ्नो समर्थन कांग्रेस महामन्त्री थापालाई समर्थन हुने बताए। महामन्त्री थापाले प्रतिनिधि सभाको निर्वाचनकै क्रममा आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने बताएका थिए।

काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएलगत्तै दलको नेतामा प्रतिस्पर्धाका लागि उनी आक्रमक रुपमा प्रस्तुत भइरहेका छन्। नयाँ नीति र योजनासहित युवापुस्तामा नेतृत्व हस्तान्तरणलाई महामन्त्री थापाले मुद्दाका रुपमा अघि सारेका छन्।

प्रतिस्पर्धा गरेरै भए पनि संसदीय दलको नेता बन्ने थापाको योजनामा पारिवारिक नातेदार एवम् नुवाकोट– १ बाट निर्वाचित केसीले कसलाई समर्थन गर्लान् भन्ने चासो राजनीतिक बृत्तमा छ।

कांग्रेसको १३ औँ महाधिवेशनमा केसी र थापा दुवैजना परस्पर विरोधी समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए। यसअघि २०५१ मा केसी पनि संसदीय दलको नेताको दावेदार रहेकाले यस्तो चासो बढेको हो।

१४ औँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्री निर्वाचित थापा १३ औँ महाधिवेशनमा भने कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी थिए। तर, पराजित भए।

शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमै प्रतिस्पर्धा गरेका केसी पनि पराजित भएका थिए। केसी र थापा दुवैजना महामन्त्रीमा पराजित त्यो महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलका डा. शशांक कोइराला विजयी भएका थिए।

१३ औँ महाधिवेशनमा फरक–फरक प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेर पराजित थापा र केसी दुवैजना १४ औँ महाधिवेशनमा भने डा. शेखर कोइराला प्यानलमा रहे। र, थापा अत्यधिक मतले विजयी भए।