भूमि आयोगको चेतावनी- सुकुम्बासीलाई हटाउन पाईन्न - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

भूमि आयोगको चेतावनी- सुकुम्बासीलाई हटाउन पाईन्न



देशका कुनै पनि स्थानमा रहेका भूमिहीन सुकुम्बासीलाई तत्काल नहटाउन राष्ट्रिय भूमि आयोगले स्थानीय तथा संघीय सरकारलाई सचेत गराएको छ।

आयोगले शुक्रबार सूचना प्रकाशित गरी भूमिहीन सुकुम्बासीको लगत संकलन, प्रमाणीकरण लगायतका काम भइरहेकाले तत्काल नहटाउन सचेत गराएको थियो। आयोगले भनेको छ, ‘काठमाडौं महानगरपालिका सहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ।’

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिको अगुवाईमा काठमाडौं महानगरले थापाथलीस्थित सुकुम्बासी बस्तीमा मंसीर १२ गते डोजर लगाउन खोजेको थियो। उनीहरूले त्यसको प्रतिकार गर्दा झडप भएको थियो। जसमा १८ जना महानगर प्रहरी घाइते भएका थिए।

त्यसपछि पनि महानगरले बस्ती हटाउने तयारी गरिरहेको छ। यसको भूमिहीन सुकुम्बासीले विरोध गर्दै आइरहेका छन्।

यहिबीच भूमि आयोगले सूचना प्रकाशित गरेर तत्काल देशभरका भूमिहीन सुकुम्बासीलाई नहटाउन भनेको हो। आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आचारसंहिताका कारण काम रोकिएको जनाएको छ।

अब आयोगले लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल संचालन गर्ने गरी आवश्यक तयारी गर्न र लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न भएसम्म भूमिहीन सुकुम्बासीलाई नहटाउन सचेत गराएको हो।