अमेरिकाको घन्टी देखेर तर्सिए ओली - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

अमेरिकाको घन्टी देखेर तर्सिए ओली



निर्वाचन जितेपछि पहिलोपटक पार्टी कार्यालय पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग मिलेको आरोप लगाएका छन्।

उनले लामिछानेले अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न घन्टी जस्ताको तस्तै लिएर आएको टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्। पार्टी कार्यालयमा राष्ट्रिय जनसांस्कृतिक महासंघले ओलीका लागि सम्मान कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा स्वस्तिवाचन गरी चुनाव जितेकोमा ओलीलाई बधाई दिइएको थियो।

ओलीले सम्मान कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी हुप्प फूलेको पनि बताए। ‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी रहेछ, त्यसको चुनाव चिह्न घन्टी छ, दुरुस्त आकारको त्यहीं घन्टी यहाँ पनि लिएर आएका छन्। त्यो घन्टी अस्तिसम्म स्वाप्पै थियो। अहिले कसरी हुप्प फुल्यो। केही त होला। त्यतापट्टि पनि धेरै नजाऔँ,’ ओलीले भने।

ओलीले सत्ता गठबन्धनले धाँधली गरेर केही ठाउँमा एमालेका उम्मेदवारलाई हराएको आरोप समेत लगाए। ‘कहीं मान्छे मारे, कहीं बुथ लुटे र कही गणनामा धाँधली गरे। धाँधलीकै कारण ६ क्षेत्रको मत परिणाम आउन ढिलाइ भइरहेको छ’,ओलीले भने।

सत्ता पक्षले राज्यसत्ताको दुरूपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको ओलीको आरोप छ। सत्ता पक्षले धाँधली गरे पनि जनताले नेपालको लोकप्रिय पार्टीका रूपमा एमालेलाई मत दिएर स्थापित गरेको उनले बताए। सत्ता गठबन्धन र अनेक किसिमका शक्ति लाग्दा पनि एमालेलाई जनताले भने पत्ताएको उनको भनाइ थियो ।