खाँणलाई हराउने दिपक बोहरा को हुन् ? - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

खाँणलाई हराउने दिपक बोहरा को हुन् ?



प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट बहालवाला गृहमन्त्री हराएका राप्रपाका दीपक बोहरा अहिले चर्चामा छन् ।

एकातिर गृहमन्त्री अर्कोतिर सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई राजनीति नै धरापमा पार्नेगरी पराजित गरेपछि उनको चर्चा चुलिएको हो ।

बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री र २०३८ मा पर्यटन सहायकमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।

रोचक

अर्को रोचक कुरा त के छ भने यो चुनावमा बोहरा बोल्दै बोलेनन् । मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्दा पनि उनी चुपचाप थिए । उनी बोल्दै नबोली विजयी भएका छन् । बोहरा चुनाव प्रचारप्रसारभर घाँटीको समस्याले ‘भ्वाइस रेस्ट’ मा थिए । उनलाई चिकित्सकले नबोल्न आग्रह गरेका थिए ।

घरदैलोका क्रममा मतदातासँग साक्षात्कार गरे पनि बोहराले कसैसँग दोहोरो कुराकानी गरेनन् । उनले इशाराले नै मत मागे । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदय, स्वाति थापा, केन्द्रीय सदस्य तोयनाथ लम्साल, सागरप्रताप राणा, युवराज घिमिरे लगायतले सम्बोधन गर्दथे ।

विगत करिब ५ महिनादेखि बोहरा बोल्न छाडेका हुन् । पोस्ट कोभिडका कारण समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा बसेका हुन् । पूर्ण रुपमा निको हुन अझै केही महिना लाग्ने बताइएको छ ।