रुपन्देही- २ मा मतगणना नरोक्न निर्वाचन आयोगको आदेश - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

रुपन्देही- २ मा मतगणना नरोक्न निर्वाचन आयोगको आदेश



रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना नरोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धन, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले मतगणना रोक्दै पुन: मतदान गर्न लिखित माग गरेपछि बुटवल तनावग्रस्त बनेको छ ।

विवाद बढेपछि मुख्य निर्वाचन अधिकृत उद्वीर नेपालीले विवादका कारणसहित निर्वाचन आयोगसँग राय मागेका थिए ।

रायमा आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुरु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

निर्देशन आएलगत्तै शुक्रबार बिहानैदेखि रोकिएको मतगणना सुरु गर्ने तयारी बताइएको छ । मतपेटिकामा रहेको मतपत्र र मुचुल्कामा रहेको संख्या एउटै भए पनि सुरुको दिन कम्प्युटरमा इन्ट्री गर्दा फरक संख्या भेटिएपछि दलीय प्रतिनिधिबीच विवाद भएको थियो ।

दिउँसो सत्ता गठबन्धन दल, राष्ट्रिय जनमुक्ति, स्वतन्त्र पार्टीसहितका दलले पुन: मतदान गर्न लिखित माग गरेका थिए । रुपन्देही २ मा ८१ हजार २ सय २ मत खसेको थियो । अब करिब ६ हजार मत मात्रै गन्न बाँकी छ ।