रुकुम पश्चिममा माओवादीकाे क्लीन स्वीप, जनार्दन शर्मा फेरि विजयी - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

रुकुम पश्चिममा माओवादीकाे क्लीन स्वीप, जनार्दन शर्मा फेरि विजयी



अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिममा एकछत्र माओवादी केन्द्रको जीत निकाल्दै भारी मतान्तरले विजयी भएका छन् ।

यहाँबाट लगातार जितिरहेको शर्मा फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गरे ।

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार दुई सय ९५ सदर मत खसेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले सात सय ९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले दुई सय आठ र स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार पाँच सय ६७ मत प्राप्त गरे ।

त्यस्तै, रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा (१) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले आठ हजार ८१ मत ल्याए ।

त्यसैगरी, रुकुम पश्चिम प्रदेशसभा (२) मा माओवादी केन्द्रकै उम्मेदवार राजकुमार शर्माले २० हजार एक सय ६० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले आठ हजार ८८ मत प्राप्त गरे ।