आफ्नै कार्यकर्ताले गरे कांग्रेस नेताको घर घेराउ - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

आफ्नै कार्यकर्ताले गरे कांग्रेस नेताको घर घेराउ



चुनावमा आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कास्कीमा कांग्रेस कार्यकर्ताले नै कांग्रेसका नेताको घर घेराउ गरेका छन् ।

कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको पोखरा १३ बाँझापाटनस्थित घरमा कांग्रेसका कार्यकर्ताले आज साँझ नाराबाजी गरेका हुन् ।

कास्की १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ पराजित भएका छन् । उनलाई हराउन भूमिका खेलेको भन्दै आक्रोशित कार्यकर्ताले केसीविरुद्ध नाराबाजी गरेका हुन् । अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ ।

कास्की १(२) मा एमालेका बेदबहादुर गुरुङ श्यामले कांग्रेसका माइलालाई साढे ८ सय मतान्तरले हराएका छन् । केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार हराउन लागेको भन्दै दीपकको समूहले नाराबाजी गरेको हो ।

कांग्रेस मादी गाउँपालिकाका सभापति यम गुरुङले आज दिउँसो फेसबुकमा स्टाटस लेख्दै नेता केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाईसमेत भनेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘मलाई घरमै बोलाएर १ घण्टासम्म किशोरलाई हराउनुपर्छ, जित्न दिनुहुँदैन भनेर पढाए । यसको तात्पर्य दुवै उम्मेदवार हराउनुपर्छ भन्ने हो ।’