हर्क साम्पाङलाई जिताउनेहरू 'आँखा नदेख्ने' हुन्- केपी ओली - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

हर्क साम्पाङलाई जिताउनेहरू ‘आँखा नदेख्ने’ हुन्- केपी ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरको मेयरमा हर्क साम्पाङलाई जिताएको भन्दै जनताले आँखा देख्न छोडेको बताए ।

चुनावी सम्बोधनका लागि शुक्रबार धरान पुगेका उनले धरानबासीलाई कटाक्ष गर्दै जिताउने बेलामा आँखा नदेखेको अहिले गुनासो गरेको आरोप लगाए। उनले छान्ने बेलामा आँखा देख्नुभएन। अहिले भनेर हुन्छ? भन्दै प्रश्न गरेका थिए ।

‘यहाँको खानेपानीको कुरा, अब यहाँका मेयरलाई ‘खानेपानी ले’ भनेर, कतिवटा घैला बोकुन्, बिचरा! कसको घरमा खानेपानी पुर्‍याउन्। यहाँ त राष्ट्रिय बजेट, राष्ट्रिय योजना चाहिन्छ’, उनले भने, ‘अब नगरको बजेटले त्यो आयोजना हुन्छ त? नगरको बजेटले त्यो हुँदैन। म केही भन्दिनँ अब, छान्ने बेलामा आँखा देख्नुभएन। अहिले भनेर हुन्छ?’

ओलीले धरानलाई पानी खुवाउने राष्ट्रिय योजनाका लागि एमालेको सरकार चाहिने बताए। ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर धरानलाई पानी खुवाउँछ, एमालेले। तपाईंहरु ढुक्क हुनुस्’, उनको भनाइ थियो।

साम्पाङले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका थिए। उनले २० हजार ८२१ मत पाउँदा कांग्रेस उम्मेदवार किशोर राईले १६ हजार ५९ र एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत पाएकी थिइन्।