संघीय राजधानी काठमाडौंबाट सार्ने जनमुक्तिको प्रस्ताव - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

संघीय राजधानी काठमाडौंबाट सार्ने जनमुक्तिको प्रस्ताव



बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले संघीय राजधानी काठमाडौं बाहिर बनाउनुपर्ने धारणा अघि सारेको छ ।

काठमाडौंको ऐतिहासिकतालाई जोगाउन उपत्यका बाहिर वैकल्पिक राजधानी बनाउनुपर्ने सो पार्टीको तर्क छ । पार्टीले देवदहमा गरेको पत्रकार भेटघाट तथा अन्तरक्रियामा पार्टीका केन्द्रीय अनुगमन विभाग संयोजक दलबहादुर बिरकट्टाले काठमाडौंमा संघीय राजधानी अनुपयुक्त भइसकेकाले काठमाडौं बाहिर उपयुक्त स्थानमा राजधानी बनाउनुपर्ने पार्टीको चुनावी एजेण्डा रहेको बताए ।

महँगो निर्वाचन प्रणालीका कारण भ्रष्टाचार बढेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा पार्टीले जोड दिएको पनि उनले बताए ।

मिश्रित निर्वाचन प्रणालीमा धनाढ्यहरू मात्रै चुनाव लड्न सक्ने र करोडौं रकम दिएर टिकट हात पार्ने परिपाटी रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनको तर्क छ । भ्रष्टाचार देशको मुख्य समस्या भइसकेको र त्यसको प्रमुख कारण खर्चिलो निर्वाचन प्रणाली रहेको उनको दाबी छ ।

अहिलेको निर्वाचन प्रणालीले ५१ प्रतिशत जनसंख्या रहेको महिलाले १० प्रतिशत पनि स्थान नपाएको उनले बताए ।

भ्रष्टाचारलाई राजद्रोह सरको अपराध मानेर भ्रष्टाचारमा संलग्नलाई आजीवन कारावास,समपत्ति जफत गरेर राष्ट्रियकरण गर्ने कानुन बनाउन आवश्यक रहेको जनमुक्तिको धारणा रहेको बिरकट्टाले बताए ।

सबै तहको शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने जनमुक्तिको प्रतिवद्धता छ । जनप्रतिनिधिहरूले तलब सुविधा नलिने व्यवस्था गरिनुपर्ने धारणा समेत उक्त पार्टीले अघि सारेको छ ।

निर्वाचन जित्न दल र उम्मेदवारहरुले अनेक प्रतिबद्धता सार्वजनिक गर्ने तर जितेपछि कार्यान्वयन नगर्ने प्रवृत्ति रोक्न जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने उनले बताए ।