ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको देख्दा आफैलाई लाज लाग्छ- प्रचण्ड - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको देख्दा आफैलाई लाज लाग्छ- प्रचण्ड



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

रामेछापका नेकपा (एमाले) का नेता रामकृष्ण लामासहितका दर्जनौं नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा सच्चा राष्ट्रवादी भनेको माओवादी नै भएको भन्दै अब निर्वाचनको युद्धमा होमिन निर्देशन दिए । उनले नवप्रवेशीहरुलाई गठबन्धनको पक्षमा जनमत सिर्जना पनि आग्रह गरे । उनले एमालेभित्र ओली प्रवृत्ति परिवर्तनविरोधी रहेको सुनाए ।

उनले आफूहरुले वाम गठबन्धन गरेर दुई तिहाई बहुमत ल्याएको र ओलीलाई प्रधानमन्त्री बनाएको स्मरण गराए । संविधान मास्ने हर्कत पटकपटक गरेका ओलीले अहिले लाजै पचाएर भाषण गरेको देख्दा आफैलाई लाज लाग्ने गरेको प्रचण्डले बताए

उनले अहिले केपी ओली के भनेर जनतामा भोट माग्न गएको भन्दै प्रश्न गरे । उनले भने,‘जनतालाई उनले के ठान्छन् ? मैले उखान टुक्का भनें भने सबै जनताले भोट हाल्छन् भन्ने सोचेको होलान् । जनताले संसद् विघटनलाई स्विकार नगरेको हो । बालुवाटार छोडेर बालकोट जानुपर्ने परिस्थिति भयो । स्थानीय तहको निर्वाचनमा पनि दुइ तिहाई ल्याउँछु भनेर गफ हाने, १०० सिट झर्यो ।’ उनले ओलीको गफले देशमा केही हुनेवाला नभएको दाबी गरे ।