बालेनलाई स्पष्टीकरण सोधेपछि, लौरो अभियानले निकाल्यो कडा वक्तव्य - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

बालेनलाई स्पष्टीकरण सोधेपछि, लौरो अभियानले निकाल्यो कडा वक्तव्य



काठमाडौं- हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले देशमा दर्जनौँ हर्क, बालेन् र गोपीहरू जन्मिने डरले पटकपटक आफ्नो अभियानमाथि प्रहार भइरहेको बताएको छ ।

निर्वाचन आयोगले काठमाण्डौ महानगरपालिका प्रमुख ई. बालेन्द्र शाहलाई सोधेको स्पष्टीकरणपछि लौरो अभियानले प्रेस विज्ञप्ति जारी गर्दै आफुहरुको अभियानमा शाहलाई मुछेर विवादमा ल्याउन खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महानगर प्रमुख शाहको हाम्रो नेपाली पार्टीमा कुनै प्रकारको संलग्नता नभएको र उहाँ एउटा स्वतन्त्र मेयर भएको तथा हामीले स्थानीय निकाय स्वतन्त्र व्यक्तीले नै संचालन गर्नु पर्दछ भन्ने सिद्धान्त समेत बोकेको समेत अभियानले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी गम्भिर छौ हाम्रो नेपाली पार्टी (लौरो अभियान) भनेको दर्जनौ हर्क बालेन गोपी सदनमा पुर्याएर भ्रष्टहरुलाई देश बेच्नबाट जोगाउने लौरो अभियान हो । यो देशको मुख्य समस्या भनेको भ्रष्टचार हो र यी सम्पूर्ण भ्रष्ट टाउके नेताहरुलाई जेल हालेर यो देश बनाउनु नै हाम्रो मुख्य उदेश्य हो ।”

यस्तो छ विज्ञप्ति

निर्वाचन आयोग द्वारा मिति २०७९ कार्तिक १९ गते च.नं. ११० को पत्र मार्फत काठमाण्डौ महानगरपालिका प्रमुख ई. बालेन्द्र शाहलाई सोधिएको स्पष्टिकरण बारे विभिन्न संचारमाध्यम मार्फत विषय अवगत भयो ।

विगत ४ दशक देखि राजनितिलाई पेशा बनाई पार्टीलाई व्यक्तिगत कम्पनी जसरी संचालन गर्दै देश बर्बाद पार्ने जनतालाई Free Visa, Free Ticket दिन्छु भन्दै जनता ठग्ने दुष्ट नेताहरु, ७० करोड काण्ड, ओम्नी काण्ड, फुटेज काण्ड, ९ अर्व बुढीगण्डकी, यति काण्ड देशका सबै कारखाना बन्द, किसानलाई मल अभाव, सडकका खाल्टा, लाईसेन्स प्रिन्ट, विदेशी ऋण, व्यापार घाटा, लगाएत सयौं काण्ड बाट निराश भएका स्वतन्त्र यूवाहरु एक जुट भई गत स्थानिय निकायमा काठमाण्डौं, धरान र धनगडी का स्थानीय निकायमा स्वतन्त्र उम्मेदवारहरुको जित संगै उहाँहरुले गरेका जनमुखि र राम्रा कामहरुले अत्तालिएको राज्य सत्ता (शासक) हरुले कतै अब लौरोले फेरी दर्जनौ बालेन हर्क- गोपी जन्माउने त हैन ? भनि अत्तालिएर पटक पटक लौरो माथि प्रहार गर्न लगाइरहेका छन् ।

देश बनाउनु पर्दछ र अहिले आएका भ्रष्ट नेताहरुलाई जेल हाल्नु पर्छ अनी मात्र देश बन्छ भन्ने मुख्य सोच राख्ने देशभर रहेको स्वतन्त्र युवा इन्जिनियर, डाक्टर, बुद्धीजिवी अभियान्ता तथा राष्ट्रलाई मायाँ गर्ने नेपाली मिलेर नेपालको विध्यमान कानुन अनुसार हाम्रो नेपाली पार्टी दर्ता गरिएको हो ।

महानगर प्रमुख ई. बालेन्द्र शाहज्यूको यस हाम्रो नेपाली पार्टीमा कुनै प्रकारको संलग्नता नभएको र उहाँ एउटा स्वतन्त्र मेयर भएको तथा हामीले स्थानीय निकाय स्वतन्त्र व्यक्तीले नै संचालन गर्नु पर्दछ भन्ने सिद्धान्त समेत बोकेका छौ । विपक्षीहरुले ई. बालेन्द्र शाह लगायत स्वतन्त्र उम्मेदवारहरुले गरेका राम्रा कार्यहरु संग तर्सिएर यो आम निर्वाचनको विषयमा ई. बालेन्द्र शाहलाई विवादमा मुछन खोजेको विषय प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ साथै आपत्ती समेत व्यक्त गर्दछौ । ई. बालेन्द्र साह लाई कुनै प्रकारको आक्षेप र राजनितिक विवादमा नजोडी काठमाण्डौ लाई विश्वकै सुन्दर शहर बनाउने अभियानमा अगाडी बढ्न हामी सबैले साथ र सहयोग गरौ भन्ने आवाहान समेत गर्दछौ ।

उक्त पत्रमा उल्लेख भए जस्तो हाम्रो नेपाली पार्टीले उहाँको फोटो वा कुनै प्रकारको समर्थन रहेको भन्ने विषय कहि कतै गरिएको छैन र केहि इन्जिनियर, डाक्टर साथिहरु जो ई. बालेन्द्र शाहलाई जिताउन लाग्नुभएको र उहाहरुले व्यक्तिगत रुपमा सामाजीक संजालमा स्थानीय निर्वाचन बखत राखिएका हुन सक्छन तर हाम्रो नेपाली पार्टीले त्यस्ता कार्य नगरेको व्यहोरा जानकारी गराउदछौ ।

हामी गम्भिर छौ हाम्रो नेपाली पार्टी (लौरो अभियान) भनेको दर्जनौ हर्क बालेन गोपी सदनमा पुर्याएर भ्रष्टहरुलाई देश बेच्नबाट जोगाउने लौरो अभियान हो । यो देशको मुख्य समस्या भनेको भ्रष्टचार हो र यी सम्पूर्ण भ्रष्ट टाउके नेताहरुलाई जेल हालेर यो देश बनाउनु नै हाम्रो मुख्य उदेश्य हो । त्यही भएको हुँदा नेपाल भित्र र बाहिर रहनुभएका सम्पूर्ण बुबा आमा, दाजुभाई तथा दिदिबहिनीहरुलाई लौरो चुनाव चिन्हमा समानुपातिक र प्रत्यक्ष तर्फका उम्मेदवारहरुलाई मतदान गरि देश बनाउने लौरो अभियान सफल बनाउन हार्दिक अपिल समेत गर्दछौ ।