"हामीसँग धेरै ओली छन्, केपी ओली किन चाहियो ?" - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

“हामीसँग धेरै ओली छन्, केपी ओली किन चाहियो ?”



एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसेका एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओली किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

रावलले ओलीले कञ्चनपुरमा गरेको चुनावी सम्बोधनप्रति आपत्ति जनाउँदै केपी ओली किन चाहियो भन्ने प्रश्न गरेका छन् ।

कञ्चनपुरको चुनावी सभामा ओलीले उत्तेजना प्रस्तुत गरेको भन्दै रावलले आपत्ति जनाएका हुन्।त्यस सभामा ओलीले बोल्दै गर्दा रावलको पक्षमा नाराबाजी भएको थिय‍ो।

भीडबाट भीम रावलको पक्षमा नाराबाजी भएपछि ओलीले आक्रोशित हुँदै ‘सुदूरपश्चिममा धेरै रावल रहेकाले बूढो भीम रावलको चिन्ता नगर्न’ भनेका थिए।

यसमा आपत्ति जनाउँदै रावलले ओलीलाई भनेका छन्, ‘म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र फेरि प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो?’

सुदूरपश्चिममा भीम रावलले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको भन्ने ओलीलाई उनले ‘केपी ओलीले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको’ जवाफ दिएका छन्।

‘स्मरण रहोस्, अछाम जिल्ला र देशैभर ब्राह्मण र क्षेत्री गरी थुप्रै ओली छन्। तिनलाई एमालेमा तत्काल अध्यक्ष किन नबनाउने?’ रावलको प्रश्न छ।