“एमाले प्रवेश गरेको भन्दै म विरुद्ध गलत खबर फैलाए”
जनकपुरधाम- चुनाव नजिकिँदै जाँदा दलहरूमा पार्टी प्रवेशको लहर चलेको छ । प्रत्येक दिन घरदैलो कार्यक्रमका क्रममा जो कोहीलाई पनि पार्टी प्रवेश गरेको भन्दै माला र गमछाले स्वागत गर्ने परिपार्टी नै चलेको छ ।
कोही स्वेच्छा, त कोही चुनावमा व्यक्तिगत फाइदाले त कसैलाई इच्छाविपरीत स्वागतको नाममा पार्टी प्रवेश गराउने मधेश प्रदेशका धनुषा जिल्लामा खासगरी एमाले र कांग्रेसमा लहर नै चलेको देखिन्छ ।
यसैक्रममा गत असोज २८ गते जनकपुरधाममा चर्चित व्यक्ति एवं नेपाली कांग्रेसका नेता मिठाई पसले हंसराज साह एमाले प्रवेश गरेको कुरा बाहिर आएको थियो ।
मिठाई खुवाएर उनलाई पार्टी प्रवेश गरेको खबर सञ्चार माध्यम तथा सामाजिक सञ्जाल निकै भाइरल भएको थियो ।
तर, दुई सातापछि उनले आफू एमालेमा प्रवेश नगरेको दाबी गर्दै बदनाम गर्न हल्ला फैलाइएको बताएका छन् । सत्ता गठबन्धनबाट लोसपाका धनुषा ३ (२) का उम्मेदवार परमेश्वर साहको घरदैलोका क्रममा उनले आफू एमाले पार्टीमा प्रवेश नगरेको स्पष्टीकरण दिँदै कांग्रेसमै रहेको दाबी गरे ।
उनले भने, ‘आफ्नो घरमा एमालेका प्रतिनिधि सभाका उम्मेदवार जुली महतो घरदैलोका क्रममा मत माग्न घरमा आउनुभएकाे थियाे । हाम्रो मिथिला संस्कारअनुसार घरमा आउने पाहुनालाई स्वागत गर्ने मैले उहाँलाई फूलमालाले स्वागत गरेपछि उहाँले पनि मलाई माला लगाई दिनुभयो । त्यतिकैमा उहाँसँग आएका व्यक्तिहरूले फोटो खिचेर सामाजिक सञ्जालमा राखेर हंसराज एमालेमा प्रवेश गरेको भन्ने हल्ला फैलाएर मिडियामा समेत हाले ।’
साहले अगाडि भने, ‘म कांग्रेसमै छु र हाम्रो गठबन्धनमा रहेका दलको उम्मेदवारलाई जिताउने जिम्मेवारी भएकाले बढीभन्दा बढी मत दिलाउन मेहनत गर्नेछु ।’
२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेर मेयरको टिकट लिएर चुनाव लडेका हंसराज निर्वाचनमा पराजित भएसंगै उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
उनलाई नेपाली कांग्रेसका तत्कालीन उप–सभापति विमलेन्द्र निधिले पार्टी प्रवेश गराएका थिए ।