डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन गर्ने ओलीको घोषणा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन् ।
महेन्द्रनगरको चुनावी सभामा संशोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताए ।
‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौँ । मैले सुने त्यहाँ कसैले बक्तव्य निकाल्यो भनेर’ ओलीले भने, ‘तर त्यस्तो अधिकार अरूलाई छैन ।’
डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ ।
एमाले डडेलधुराका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति निकालेका थिए ।
तर अध्यक्ष केपी शर्मा ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकारी अरूलाई नभएको बताए ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग विद्रोह गर्दै कर्ण मल्लले नेपाली काँग्रेस बिपीबाट राजनीतिक थालेका छन् । मल्लसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेलधुरामा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाएको छैन ।