दार्चुलाबाट ओलीले भने– एक इन्च भूमी पनि मिच्न दिन्न
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको भूमी एक इन्च पनि मिचिन नदिने प्रतिबद्धता जनाएका छन् । दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै उनले नेपालको भूमी मिचिएको भए फिर्ता ल्याउने बताए ।
“राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च पनि मिचिन दिनेवाला छैन,” ओलीले भने, “मिचिएको भए फिर्ता ल्याउँछौँ भनेर हामीले नक्सा जारी गरेका छौँ । संसदले सर्वसम्मतले पास गरेको छ । त्यो कुरा आज फेरि तपाईंहरुसँग ग्यारेन्टी गर्न चाहन्छु ।”
ओली प्रधानमन्त्री बनेका बेला लिपुलेक, कालापानी लिम्पियाधुरासहितको भूमी समेटेर नयाँ नक्सा जारी भएको थियो ।
उनले दार्चुलामा प्रतिनिधिसभाका उमेदवार गणेश ठगुन्नासहित प्रदेशसभाका उमेदवारलाई निर्वाचित गर्न आह्वान पनि गरे ।