प्रदीप ज्ञवालीलाई मतदाताको जवाफ- यसपाली आराम गर्नुस
गुल्मी- नेकपा एमालेका उपमहासचिव तथा प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप ज्ञवालीलाई मतदाताले यसपटक आराम गर्न सुझाव दिएका छन् । चुनावको मिति नजिकिएसँगै भोट माग्न आफ्नो क्षेत्रमा खटिएका ज्ञवालीलाई यसपटक आराम गर्नुपर्ने सुझाव आएको हो ।
ज्ञवालीले आफूलाई मत दिनुपर्ने कारण सहित ज्ञवालीले सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश अपलोड गरेका छन् । अधुरा काम पुरा गर्न मलाई मत दिनुहोस भन्ने सन्देशसहितको उक्त भिडियोमा मतदाता र शुभचिन्तकहरूले यापतक आराम गर्नुपर्ने सुझाव दिएका छन् ।
ज्ञवालीले जारी गरेको भिडियोमा रिप्लाई गर्ने केहीले कति पटक जितेपछि अधुरा काम पुरा हुन्छन ? भन्दै प्रश्न समेत गरेका छन् । अधिकांशले उनलाई ‘नो नट अगेन भन्दै रिप्लाई फर्काएका छन् । केहीले उनलाई भारतपरस्त नेताको आरोप समेत लगाएका छन् ।
ज्ञवालीले रेसुङ्गा विमानस्थल, मदन भण्डारी सडक र अन्य केहि आयोजनाको काम पुरा नभएको भन्दै आफूलाई जिताउन आग्रह गरेका छन् । यही क्षेत्रबाट निरन्तर जित्दै आएका ज्ञवालीविरुद्ध मतदाताको आक्रोश बढेको बुझ्न सकिन्छ ।