ओलीको तर्क- जनताले गल्ती गरेकाले मैले सरकार चलाउन सकिन
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०७४ मा एमालेले बहुमत नपाएकाले सरकार ढलेको बताएका छन् । आफूले बहुमतको सरकार चलाउन नसकेको आरोप तथ्यमा आधारित नभएको उनको दाबी छ ।
मंगलबार पार्टीको चुनावी घोषणपत्र सार्वजनिक समारोहमा नबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाहसँग प्रश्नोत्तर गरेका ओलीले विगतमा आफ्नो पार्टीले बहुमत नै नपाएको दाबी गरे ।
“दुई तिहाइ बहुमतको सरकार चलाउन नसकेको भनेर भनिँदैछ । त्यसमा सत्यता छैन,” ओलीले भने, “एमालेले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी १२१ सिट मात्र पाएको थियो ।”
०७४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्र एउटै घोषणपत्रमा चुनाव लडेका दिए । त्यसबाहेकका कम्युनिस्ट पार्टीहरू पनि त्यही गठबन्धनबाट लड्दा वाम गठबन्धनलाई बहुमत दिन आग्रह गर्दै स्थिरताको ग्यारेन्टी भनिएको थियो ।
तर, ओलीले मंगलबार घोषणपत्र सार्वजनिक गर्दा उठेका प्रश्नमा आफ्नो पार्टीले ०७४ सालमा बहुमत नपाएकाले सरकार ढलेको बताए । सर्वसाधारणका तर्फबाट भन्दै प्रश्न सोध्न बसेका शाहले भने ओलीको विगतको प्रतिबद्धता र भोट मागेको विषयमा चासो राखेनन् । बरु ओलीले गरेको गुनासोलाई समर्थन जनाउँदै उनकै प्रशंसा गरे ।
त्यसबेला वाम गठबन्धनको नाम दिएर एउटै घोषणपत्रमा चुनावमा जाँदा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीलाई एक बनाउने घोषणा गरेका थिए ।
घोषणा अनुरूप ०७५ जेठ ३ गते मदन स्मृतिको दिन पारेर पार्टी एकता गरिएको थसयो । पार्टी एकतापछि माओवादी केन्द्रले जितेको प्रत्यक्षतर्फका ३६ र समानुपातिकतर्फका १७ सिट गरी नेकपासँग स्पष्ट बहुमत बनेको थियो । एमालेको १२१ र माओवादी केन्द्रको ५३ गरी १७४ सिट भएको थियो । जबकि बहुमतका लागि १३८ सिट भए पुग्छ ।
ओलीले उपेन्द्र यादव नेतृत्वको तात्कालीन संघीय समाजवादी फोरमलाईसमेत सरकारमा लगेर दुइतिहाइ बहुमतको सरकार बनाएका थिए ।
सिंगो नेकपाको नेतृत्व गरेर सरकारमा रहेका ओलीले कोरोना संक्रमणको त्रास बढेका भन्दै लकडाउन घोषणा गरेको केही दिनमै राजनीतिक दल फुटाउन सहज हुनेगरी अध्यादेश जारी गरेका थिए । त्यहाँबाट सुरु भएको विवादले ओलीले ९ महिनापछि पुस ५ गते संसद् नै विघटन गरिदिएका थिए । ओलीले विघटन गरेको संसद् पुनर्स्थापना भएर बैठक बस्न नपाउँदै सर्वोच्चकै अर्को फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता खारेज भएको थियो ।
निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गराएका ऋषि कट्टेलले नामका विषयमा दायर गरेको मुद्दाको फैसलामा सर्वोच्चले एमाले र माओवादीको एकता भंग गरिदिएको थियो ।
दुई तिहाइ बहुमतको सरकारको नेतृव गरिरहेका बेला दल फुटाउने गरी अध्यादेश जारी गरेका ओलीले यसपटकको निर्वाचनमा जाँदा भने जनतासँग एमालेले बहुमत नपाएका कारण सरकार विघटन भएको र आफूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पनि पूरा गर्न नसकेको बताएका छन् ।