याक एन्ड यति होटलमा एमालेको घोषणापत्र सार्वजनिक
नेकपा एमालेले ४ मंसिरको चुनावका लागि मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ ।
याक एन्ड यति होटलमा कार्यक्रम गरेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
एमालेले घोषणापत्र सार्वजनिक गर्न किन फाइभ स्टार होटल रोज्यो भन्ने प्रश्नमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘के नौलो कुरो भयो त अरुले जे गर्यो त्यही गर्नुपर्छ भन्ने छैन ।
प्रविधि र जमाना कहाँबाट कहाँ पुगिसक्यो । अरु पार्टीले पत्रकार सम्मेलन गरेर पुरानो शैलीमा गरे हामीले फरक शैलीमा गर्दैछौँ ।’
उनले एमाले धनी पार्टी भएर तारे होटल नरोजेको बताए । उनले भने, ‘प्रश्नमा त्यस्तो होइन । सामान्य कामहरू त तारे होटलमा हुन्छन् । यो नयाँ युगमा मुलुकलाई लैजाने दस्तावेज सार्वजनिक गर्ने कुरा हो ।’
यसअघि कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आ–आफ्नो पार्टी कार्यालयबाट घोषणापत्र सार्वजनिक गरेका थिए ।