चौहानले उम्मेदवारी निष्क्रिय पारे, अर्घाखाँचमा गठबन्धनलाई सहज - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

चौहानले उम्मेदवारी निष्क्रिय पारे, अर्घाखाँचमा गठबन्धनलाई सहज



अर्घाखाँची- अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् ।

आइतबार राती सन्धिखर्कमा सत्ता गठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकाले गठबन्धनलाई जिताउनका लागि आफूले उम्मेदवारी निष्क्रिय पारेका बताए ।

आफू जित्ने गरी निर्वाचनमा होमिएको भए पनि गठबन्धन हार्ने अनि प्रतिगमनले हार्ने डरका कारण आफू निर्वाचनबाट बाहिरिएको चौहानले बताए । नेता चौहानले आफू कुनै आर्थिक प्रलोभनमा नपरेको समेत जिकिर गरेका थिए ।

अर्घाखाँची प्रदेशसभा क मा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका ठाकुरकुमार वि.क.ले केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका थिए ।

‘गठबन्धनबाट उम्मेदवार बनेका पुष्पा भुसाल र प्रदेशसभा (ख) का उम्मेदवार कमल भुसाललाई हामीले पहिले नै समर्थन गरेका थियौँ,’ नेता चौहानले भने, ‘तर प्रदेशसभा (क) मा हाम्रो दाबी थियो । हामीले कुनै लोभ प्रपञ्चमा परेर होइन, प्रतिगमन परास्त गर्नका लागि उम्मेदवारी निष्क्रिय पारेको हो ।’