आयोगले थाल्यो प्रचण्डमाथि अनुसन्धान, थप कारबाही अगाडी बढाउने तयारी - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

आयोगले थाल्यो प्रचण्डमाथि अनुसन्धान, थप कारबाही अगाडी बढाउने तयारी



निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको स्पष्टिकरणमाथि थप अनुसन्धान थालेको छ । थप अनुसन्धान गरेर आयोगले प्रचण्डमाथि थप एक्सन लिने तयारी गरेको स्रोतले जनाएको छ ।

बाजा बजाएर आचारसंहिता उल्लंघन गरेको विषयमा निर्वाचन आयोगले थप प्रमाण जुटाएर प्रचण्डमाथि थप प्रक्रिया अगाडी बढाउन लागेको बताइएको छ । २३ असोजमा गोरखा क्षेत्र नम्बर २ मा मनोनयन दर्ता गर्न जाने क्रममा पञ्चेबाजा बजाएर गएको भन्दै आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको थियो । त्यसमाथि प्रचण्डले स्पष्टिकरण समेत दिएका थिए ।

प्रचण्डले दिएको स्पष्टीकरणमा आफूले पञ्चेबाजा ल्याउन नभनेको र आफूलाई त्यसबारे जानकारी नभएको बताएका थिए । ‘बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थितिबारे म र हाम्रो पार्टीको तर्फबाट बाजागाजा ल्याउन कुनै पनि किसिमको योजना, निर्देशन र अनुरोध नगरिएको व्यहोरा स्पष्ट गर्न चाहन्छु । सो कुरा मलाई जानकारीसमेत नभएको स्पष्ट गर्न चाहन्छु,’ प्रचण्डले भनेका थिए ।

प्रचण्डले आफूलाई थाहा नभएको जानकारी दिएपनि पञ्जेबाजा बजाएको भिडियो प्रचण्डको अफिसियल फेसबुक पेजबाटै सार्वजनिक गरिएको भेटिएपछि आयोग झन् आक्रामक बन्न लागेको हो ।

निर्वाचन आयोगले प्रचण्डको मनोनयनमा आचारसंहिता उल्लंघन भएको हो होइन भनेर जिल्ला प्रशासन कार्यालय गोरखा र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सोध्ने तयारी थालेको छ ।

त्यहाँको जवाफ आएपछि थप प्रक्रिया अगाडी बढाउने आयोगको तयारी रहेको आयोग स्रोतले जनाएको छ । यदि आयोगले प्रक्रिया अगाडी बढाएको खण्डमा प्रचण्डले जरिमाना गराउन सक्छ ।